BIZMANDU
www.bizmandu.com

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

२०८३ असार ३०

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी
निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी


काठमाडौं। निजी क्षेत्रले विपद्‍मा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी हेलिकोप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने भएको छ।

Tata
GBIME
Nepal Life

यस सम्बन्धमा वायुसेवा सञ्चालक संघ, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा)ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समझदारी गरेका छन्।

वायुसेवा सञ्चालक संघसँग काठमाडौं उपत्यकाभित्र उडान गर्नुपरेमा निःशुल्क उपलब्ध गराउने र उपत्यकाबाहिर उडान गर्नुपरेमा न्यूनतम खर्चमा सेवा दिने समझदारी भएको छ।

नेपाल ड्रोन संघले विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत्सम्बन्धी उपकरण (पाइलटसहित) उपलब्ध गराउने छ। यो काममा खटिने सदस्यको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने छ।

नाराले विपद्को समयमा प्राधिकरणले माग गरेमा निःशुल्क रुपमा राफ्ट र तत्सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनेछ।

राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्‍मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायत काममा प्रयोग गरिने समझदारी छ। यो समझदारी एक वर्षसम्म कायम रहनेछ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य तथा समन्वय जरुरी हुने भन्दै हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने बताए।

वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, ड्रोन संघका अध्यक्ष राजविक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्‍मा परेका नागरिकको जीउधनको सुरक्षाका लागि आफूहरु सकेको मद्दत गर्न तयार रहेको बताए।

समझदारीमा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका उपसचिव फणिन्द्रप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि उपस्थित थिए।