काठमाडौं। कृषि विकास बैंक क्लियरिङ शाखाका कर्मचारीको लापरवाहीले पैसा नभएको खाताबाट विभिन्न व्यक्तिको नाममा ठूलो रकम भुक्तानी भएको खुलेको छ।
पैसा नभएको खाताबाट काटिएको चेकमार्फत २१२ जनाको नाममा रकम भुक्तानी भएको छ। कुल १३ करोड ४८ लाख रुपैयाँ भुक्तानी भएको छ।
भुक्तानी भएको रकममध्ये धेरै बैंकलाई पैसा फिर्ता गरिसकेका छन्। फिर्ता नगर्ने केहीमाथि प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको छ।
बैंकले पटक पटक खाताबालाई सम्पर्क गर्दा पनि रकम फिर्ता नगरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो।
त्यसपछि प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। अजय कुमार राउत, निशान्त मगर, प्रमोद खनाललाई प्रतिवादी बनाएर आपराधिक विश्वासघातमा मुद्दा दायर गरिएको हो।
अजय कुमार राउत लगायत कृषि विकास बैंकमा खाता सञ्चालनमा रहेका २१२ जना सञ्चालकहरूले बैंकमा रहेको खाता बन्द/ खातामा मौज्दात नभएको जानी जानी बैंक खाताको चेकमा रकम भरी चेक धारकहरूलाई दिएका थिए।
सो चेक पाएकाहरूले ईलेक्ट्रोनिक क्लियरिङका माध्यमबाट सटहीको लागि चेकहरू पेस पनि गरे। तर त्यो दिन प्रविधिमा गडबडीको कारण अटो एसेप्ट भएपछि २ सय १२ जनाको खातामा रकम गएको थियो।
ती खाताहरूमा १३ करोड ४८ लाख ५ हजार १०० सय रुपैयाँ भुक्तान भएको प्रहरीको अनुसन्धानमा खुलेको हो। त्यसपछि बैंकका कर्मचारीले ती खाताहरूलाई सम्पर्क गरेर रकम मागेका थिए। जसमध्ये २०१ जना खातावालाबाट १२ करोड ५६ लाख ५५ हजार ६०० रुपैयाँ फिर्ता आएको थियो।
फिर्ता हुन बाँकी रहेको रकमहरूमध्ये नेत्रबाबाट(प्रतिवादी नभएकाले नाम परिवर्तन) १ लाख ८० हजार, प्रमोद खनालबाट ८ लाख १० हजार अजय कुमार राउतबाट १५ लाख र निशान्त मगरबाट तीन लाख फिर्ता हुन बाँकी रहेको थियो।
प्रहरीले अनुसन्धान गरिरहेको समयमा नेत्रले रकम फिर्ता गरेकाले उनलाई प्रतिवादी बनाइएको छैन। गत असार १८ गते कृषि विकास बैंकले नेत्रबाट रकम फिर्ता आएको जानकारी दिइएपछि मुद्दा नचल्ने निर्णय भएको थियो।
एउटा बैंकको चेक अर्को बैंकको खातामार्फत भुक्तानी लिँदा त्यहाँ राफसाफ गर्ने जिम्मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले पाएको हुन्छ। यहाँ कृषि विकास बैंकको चेक काटिएको थियो। त्यो काटिएको चेक ग्राहकले आफ्नो खाता रहेको अर्को बैंकको शाखामा जम्मा गरेको थियो।
अर्को बैंकको शाखाले एनसीएचएलको सिस्टममार्फत कृषि विकास बैंकलाई काटिएको चेक बराबरको रकम छ कि छैन, हस्तारक्षर लगायत मिल्छ कि मिल्दैन भनेर सोध्छ। एउटा तोकिएको समयभित्र कृषि विकास बैंकले उत्तर नदिए त्यो चेक स्वत: भुक्तानी योग्य हुन्छ।
यहाँनेर कृषि विकास बैंकका कर्मचारीहरुले अर्को बैंकबाट एनसीएचएलमार्फत सोधिएको प्रश्नको उत्तर नदिँदा २१२ जनाको खातामा रकम जम्मा हुन पुगेको हो। कृषि विकास बैंकका कर्मचारीले अर्को बैंकले सोधेको प्रश्नको जबाफ दिन नभ्याउँदा एनसीएचएलमा ‘अहिले भ्याउँदिन’ भनेर उत्तर दिएको भएपनि रकम भुक्तानी हुन पाउँदैन थियो।