BIZMANDU
www.bizmandu.com

हेटौंडा कपडा उद्योगबाट सेनाले परीक्षण उत्पादन गर्ने, कार्यदलले मन्त्रीलाई बुझायो प्रतिवेदन

२०८३ असार ३०

हेटौंडा कपडा उद्योगबाट सेनाले परीक्षण उत्पादन गर्ने, कार्यदलले मन्त्रीलाई बुझायो प्रतिवेदन
हेटौंडा औद्यागिक क्षेत्रभित्र रहेको हेटौंडा कपडा उद्योगको भवन। तस्बिर : वासुदेव पौडेल/रासस


काठमाडौं। सरकारी कार्यदलले हेटौंडा कपडा उद्योगबाट नेपाली सेनाले तत्काल परीक्षण उत्पादन गर्ने गरी प्रतिवेदन विभागीय मन्त्रीलाई बुझाएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कार्यालयले उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा गठन गरेको कार्यदलले परीक्षण उत्पादनको नतिजा हेरेर दीर्घकालीनरूपमा सञ्चालनका लागि मोडालिटी तय गर्ने रायसहितको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको हो।

कार्यदलमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, नेपाली सेना र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रतिनिधि सदस्य थिए।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाखको लागत अनुमान पेस भएको छ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हाल हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ। बिजुली मर्मतको काम लगभग पूरा भएको उद्योग मन्त्रालयले जानकारी दिएको छ।

उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले उद्योग मन्त्रालयको सिफारिसमा असार दोस्रो साता सेनालाई ३३ लाख निकासा गरिसकेको छ।

त्यसो त अर्थ मन्त्रालयले एसियाली विकास बैंक (एडीबी)सँग सहकार्यमा हेटौंडा उद्योगको डीडीए गरिरहेको छ। तर त्यसको प्रतिवेदन प्राप्त नहुँदै सरकारले आन्तरिक कार्यदलका आधारमा उद्योगबाट परीक्षण उत्पादन गर्ने तयारी थालेको छ।