काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त खुलाएको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४१ को उपदफा (१) बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै मंगलबार सूचना जारी गरेको हो।
आवेदकले शैक्षिक योग्यताको हकमा अर्थशास्त्र, कानुन, व्यवस्थापन वा जनप्रशासनमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यसका साथै सरकारी वा गैरसरकारी संस्थामा कम्तीमा अधिकृत स्तरको पदमा १० वर्ष काम गरेको कार्यअनुभव हुनुपर्ने र उमेर ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान तोकिएको छ।
दरखास्तका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता र कार्यअनुभवका प्रमाणहरू, व्यक्तिगत विवरण तथा राजस्व बुझाएको भौचर पेस गर्नुपर्छ। यसका साथमा बोर्डलाई प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन सोचसहितको बढीमा २५ सय शब्दको चार वर्षे व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्छ।
बोर्डको कार्यकारी निर्देशक छनोटका लागि कुल १०० पूर्णाङ्कको मूल्यांकन आधार तय गरिएको छ। यसअन्तर्गत न्यूनतम शैक्षिक योग्यताबापत ५ अंक, व्यावसायिक योजना लेखनबापत ४५ अंक, व्यावसायिक योजनाको प्रस्तुतीकरणबापत २५ अंक र अन्तर्वार्ताबापत २५ अंक निर्धारण गरिएको छ। सुरुमा प्राप्त आवेदनहरूमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक योजनाको मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरिनेछ भने उनीहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्तामा सामेल गराइनेछ।
छनोट प्रक्रियाको अन्त्यमा उच्चतम अंक प्राप्त गर्ने ३ जना उम्मेदवारलाई नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गरिने कार्यविधिमा उल्लेख छ। त्यसबाट एक जनालाई सरकारले मनोनीत गर्नेछ। आवेदन बुझाउन १५ दिनको समयावधि तोकिएको छ।