BIZMANDU
www.bizmandu.com

सरकारी संरक्षणमा पार्किङ आतंक: विस्फोटक पदार्थ राखेझैं अनुसन्धान, कारबाही ट्राफिकको चिट

२०८३ असार २९

सरकारी संरक्षणमा पार्किङ आतंक: विस्फोटक पदार्थ राखेझैं अनुसन्धान, कारबाही ट्राफिकको चिट
सरकारी संरक्षणमा पार्किङ आतंक: विस्फोटक पदार्थ राखेझैं अनुसन्धान, कारबाही ट्राफिकको चिट


काठमाडौं। घरको पर्खालभित्र हेलमेट नलगाई मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्रीलाई कारबाहीको ‘स्टन्ट’ गर्ने प्रहरीले सोमबार मिडिया हाउस अगाडि आतंकित बनाएर गाडी पार्किङ गर्नेलाई के गर्ला? सामाजिक सञ्जालमा आएकै भिडियोलाई आधार बनाएर सवारी धनीलाई ‘चिट’ देखाएर कारबाहीको अभिव्यक्ति दिन लगाउने प्रहरीले अब त्यस्तै गर्ला?

Tata
GBIME
Nepal Life

कि सवारीधनीको प्रोफाइल र सरकार चलाइरहेको पार्टीसँगको ‘कनेक्सन’ले गर्दा यो विषय यसै सामसुम होला? कतै ट्राफिक कारबाहीले मात्र यो ‘प्ल्ट’ ढाकछोप हुने त होइन?

सोमबार बिहानै तीन ठूला सञ्चार गृहको कार्यालयको गेट अगाडि नै सवारीसाधन तेर्‍साएर आतंकित बनाइएको थियो। योजनाबद्धरुपमा एकै समयमा कान्तिपुर पब्लिकेसन, अनलाइन खबर डटकम र हिमालयन टेलिभिजनको गेटमा सवारी तेर्स्याइएका थिए।

बिहान करिब ७ बजेतिर राखिएका गाडी प्रहरीलाई खबर गरेको पाँच घण्टापछि मात्र हटाइए। अन्य मिडियाहरुमा समाचार आएपछि मात्रै प्रहरीले गाडी हटाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गाडीलाई क्रेनको सहयोगमा उठाएर लग्यो। त्यसभन्दा अगाडि गाडीभित्र कुनै शंकास्पद विस्फोटक पदार्थ भए नभएको ‘चेक’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइले बताए।

‘विस्फोटक पदार्थ छ कि छैन भनेर चेक गरेपछि केही नदेखिएकाले हामीले उठाएर एक ठाउँमा डम्प गरेका छौं,’एसपी भट्टराइले भने।

अहिले जिल्ला प्रहरी परिसरले गाडी काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई बुझाएको छ। अब ट्राफिक प्रहरीले सडक आवागमनमा असर पुर्‍याएर अव्यवस्थित रुपमा पार्किङ गरेको विषयमा अनुसन्धान गर्ने प्रहरीले जानकारी दिइएको छ।

अर्थात – अब यो योजनाबद्ध आतंकित बनाउने खेलको अनुसन्धान ट्राफिक प्रहरी अन्तर्गत मात्र हुने देखिएको छ।

तर, यी घटना अव्यवस्थित ट्राफिक नियम उल्लंघनमा मात्रै सीमित छैन। मिडियामात्र होइन, भाटभटेनी सुपरस्टोर र कांग्रेस सभापति गगन थापाको घर जाने बाटोमा समेत यसरी नै गाडी राखिएका थिए। जसलाई हटाउन प्रहरी र ट्राफिकले कुनै प्रयास गरेनन्। त्यसैले यो नियोजित रुपमा गरिएको देखिएको भन्दै सामाजिक स`ञ्जालमा प्रश्न गर्न थालियो।

ट्राफिक प्रहरीले सोमबार साँझ सार्वजनिक गरेको विवरण अनुसार भाटभटेनी अगाडि राखिएको उक्त गाडीलाई नियम उल्लङ्घनको सामान्य चिट थमाइएको छ। बा-प्र-०१-०३३च-४२७५ नम्बरको उक्त गाडी कारबाहीमा परेको जानकारी सार्वजनिक छ।

कान्तिपुरको गेटमा रहेको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ। त्यस्तै, रास्वपाका केन्द्रीय सदस्य मधुसुदन ढकालको टिप्पणीले पनि अवस्था थप शंकास्पद बनाएको हो। त्यसैले यो घटनामा सरकारको भूमिका रहेको भन्ने बुझ्न गाह्रो नहुने तर्क गरिँदैछ।

सोमबारको घटनापछि ढकालले फेसबुकमा लेखेका थिए,’पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुन सक्छ र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरुलाइ कति अप्ठेरो पर्छ थाहा दिएको पनि हुन सक्छ।’

रास्वपा नेताको सो टिप्पणीले यसमा सरकारको संलग्नता उजागर हुन्छ। त्यसमाथि प्रधानमन्त्री बालेन्द्र शाह निकट व्यक्तिले सञ्चालन गर्ने भनिएको फेसबुक पेजहरुमा यो कदमको तारिफ गरिएको छ।

प्ल्टहरु आफैं खुलस्त भइरहँदा प्रहरी भने मूकदर्शक बनेको छ। मिडिया हाउसलाई तर्साउने र झरीबीच जनतालाई आतंकित पार्ने प्रयासलाई प्रहरीले सामान्य घटनाको रुपमा मात्रै लिइरहेको आरोप लाग्दैछ।

हुनत: सत्तारुढ दल रास्वपाले यो घटनालाई लिएर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपासँगै विभिन्न दल र संघ-संगठनले पनि यस विषयलाई चासोपूर्ण तरिकाले हेरेका छन्। तर, सरकार र प्रहरी भने यसलाई सानो घटनाको रुपमा लिइरहेको छ।

एउटै प्ल्ट

आजको घटनामा केही ठूला मिडिया हाउसलाई चयन गरिएको छ। गाडी राखिको प्रकृति, समय एकैनासको देखिन्छ। यसबाट कुनै व्यक्तिले असावधानीपूर्वक सवारी छाडेर गएको पुष्टि हुँदैन। त्यसैले यो विषय ट्राफिक नियम उल्लंघन मात्र हुन नसक्ने जानकारहरु बताउँछन्।

अहिले सरकार सञ्चालन गरिरहेको रास्वपाका नेतासम्मकै कनेक्सन देखिएको यो विषयमा कांग्रेस सभापति गगन थापाले पनि आफूहरु नडराउने बताइसकेका छन्।

पूर्व डिआइजी केशव अधिकारी यो घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै यसबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताउँछन्। यसलाई ट्राफिक कारबाहीले मात्र नपुग्ने उनको तर्क छ।

‘यो आतंकित बनाउन योजनाबद्ध रुपमा भएको अपराध जस्तै देखिन्छ। यसमा पार्टीको कनेक्सन खुलेको देखिन्छ। शंकास्पद वस्तु छैन। त्यसैल यो गम्भीर घटना हो। अहिलेसम्म एकैचोटी यस्तो भएको थाहा थिएन,’ पूर्वडिआइजी अधिकारीले भने।

गत शुक्रबार त्रिपुरेश्वरमा पार्किङसँग जोडिएको विषयलाई लिएर गणेश नेपालीले आत्मदाह गरेका थिए। त्यसपछि मिडियामा यसबारेमा सरकारलाई जवाफदेही बनाउन समाचारहरु प्रकाशन भएका थिए। सरकारले भने यसलाई काठमाडौं महानगरपालिकाको गल्ती देखाएर उम्किन खोजिरहेको छ।

मिडियामा भने ट्राफिक व्यवस्थापनको कमजोरी र प्रशासनले चालेको कदमको आलोचना स्वरुप प्रश्नहरु सोधिएका थिए। जसपछि बालेन सरकार गठन भएयताकै आलोचित बन्न पुग्यो।

त्यसमाथि बाढीले कीर्तिपुरको होल्डिङ सेन्टरमा सुकुम्बासीलाई बिचल्ली बनाएको समाचारले पनि मिडिया र सामाजिक सञ्जालमा स्थान पायो। सरकारी मिडिया भने यस विषयमा मौन देखिएका छन्। त्यसले अहिलेको सरकारमा बसेका व्यक्तिहरु नै अवस्थालाई आतंकित पार्न उद्दत देखिएको तर्क सामाजिक सञ्जालमा भइरहेको छ।

यता काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको सुरक्षा हेर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले भने यो घटनामा ट्राफिक कारबाहीबाहेक अन्यबारे जानकारी नभएको दाबी गरेको छ।

कार्यालयका डिआइजी गोविन्द थपलियाले जथाभावी पार्किङमा कारबाही गर्न भनिएको तर अन्य विषयमा कुनै पनि जानकारी नभएको बताए।

‘सम्बन्धित युनिटले जथाभावी पार्किङमा कारबाही गर्ने भनेको छ। तर अन्य विषमा केही रिपोर्टिङ भएको छैन,’डिआईजी थपलियाले भने।