काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा दीर्घायुकुमार श्रेष्ठलाई कार्यकारी निर्देशक बनाउने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको प्रस्ताव प्रधानमन्त्री बालेन्द्र शाहले होल्डमा राखेका छन्।
ऊर्जा मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री श्रेष्ठले दीर्घायुलाई झण्डै एक महिनाअघि कार्यकारी निर्देशक बनाउन प्रस्ताव गरेकामा बालेनले अहिलेसम्म होल्ड गरेका हुन्।
बालेनले दीर्घायुलाई कार्यकारी निर्देशक नियुक्त गर्ने एजेण्डालाई पछि हेरौंला भनेर पन्छाएको स्रोतले बतायो। दीर्घायु हाल प्राधिकरणमा कामु कार्यकारी निर्देशकको रुपमा कार्यरत छन्।
गत वैशाख तेस्रो साता जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेशका कारण प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जागिर गएपछि दीर्घायुलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।
दीर्घायुलाई प्राधिकरणको नेतृत्व दिन सकारात्मक रहेका ऊर्जामन्त्री श्रेष्ठ प्रधानमन्त्री बालेनले प्रस्ताव होल्डमा राखेपछि केही अलमलमा परेको स्रोतले बतायो।
‘प्राधिकरणभित्रकै मान्छे भनेर कार्यकारी निर्देशकमा दीर्घायुजीको नाम प्रस्ताव गरिएको हो। तर, त्यो प्रस्ताव होल्ड भएपछि अन्य विकल्पमा छलफल भएको छ,’ ऊर्जा मन्त्रालयका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘प्राधिकरण जस्तो वार्षिक एक खर्ब भन्दा बढीको कारोबार गर्ने संस्थालाई लामो समयसम्म निमित्तका भरमा चलाउनु हुँदैन भनेर विभिन्न विकल्पमा पनि छलफल थालिएको हो।’
स्रोतका अनुसार मन्त्री श्रेष्ठसहित उनको सचिवालयमा प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक मनोज सिलवाल, प्राधिकरणको प्रसारण निर्देशनालयमा कार्यरत निमित्त उपकार्यकारी निर्देशक राजन ढकाल, प्राधिकरणकै पूर्वकर्मचारी प्रबल अधिकारी लगायतका बारेमा प्रारम्भिक चरणको छलफल भए पनि टुंगो लागेको छैन।
स्रोतका अनुसार बालेनले प्रस्ताव होल्ड गर्नुमा कसैले दीर्घायुले संस्था हाँक्न नसक्ने भनेर बिफ्रिङ गरेको अनुमान गरिएको छ। ‘प्राधिकरण ठूलो संस्था हो। यसमा हुने सानोसानो निर्णयले पनि ठूलो प्रभाव पार्छ,’ स्रोतले भन्यो, ‘कुनै व्यक्तिले दीर्घायुसँग कुराकानी गरेको हुनसक्छ। उसको निर्णय क्षमताका बारेमा केही ब्रिफ्रिङ भयो कि जस्तो देखिन्छ।’
स्रोतका अनुसार पछिल्लो समयमा झ्याप झ्याप बिजुली जाने गरेको विषयले पनि बालेनको सचिवालयका सदस्य असन्तुष्ट देखिएका छन्।
‘बत्ती गइरहेको विषयले पनि दीर्घायुप्रति नेगेटिभ भएको देखिन्छ। त्यो समस्या समाधान गर्न दीर्घायुजी पनि त्यति प्रोयाक्टिभ भएको देखिएको छैन,’ स्रोतले भन्यो, ‘पहिला दीर्घायुको क्षमताका बारेमा गरेको प्रश्न र बत्ती पनि झ्याप झ्याप गइरहेकाले पनि झन् समस्या भयो कि जस्तो देखिन्छ।’
बत्ती झ्याप झ्याप गइरहेको विषयमा ऊर्जामन्त्री श्रेष्ठले ट्रान्सफर्मर कमसल भएको आशंकासहित मन्त्रालयका सहसचिव सन्दीप देवको संयोजकत्वमा समिति गठन गरेर छानबिन गर्न लगाएका छन्।
दीर्घायु अहिलेसम्म ठूलो ‘कन्टोर्भर्सी’मा भने जोडिएका छैनन्। तर उनले झण्डै १५ हजार कर्मचारीको नेतृत्व गर्न सक्नेमा भने प्राधिकरणभित्रै आशंका छ। अझ शक्तिमा पहुँच राख्ने उच्च अधिकृतहरुलाई काम लगाउन उतिकै कठिन छ।
‘प्राधिकरणमा कुलमान घिसिङले धेरै मैमत्त कर्मचारीलाई तह लगाएर काम गरेका थिए। सुरुवातमा उनले प्रहरीको पनि सहयोग लिएर चुहावट रोक्ने काम गरे,’ प्राधिकरणकै एक कर्मचारीले भने, ‘त्यो ठाउँमा निर्णय क्षमता भएको र हक्की स्वभावकै मान्छे चाहिन्छ।’