काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र बुझेका छन्।
उनले सोमबार सूचना तथा सञ्चार मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेका हुन्। उनलाई सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र दिएका थिए।
मन्त्रिपरिषद्को असार २४ गतेको बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्री तिमिल्सिनाले प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै नियामक निकायले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ। उनले दूरसञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने बताए।