काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संचारमाध्यमका कार्यालय अगाडि शंकास्पदरुपमा गाडी पार्किङ गरेर अस्तव्यस्त अवस्था सिर्जना गरिनु लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भएको बताएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सोमबार प्रेस विज्ञप्ति जारी गरी संचारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले शंकास्पदरुपमा गाडी पार्किङ गरेको देखिएको भन्दै त्यसलाई लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भनेको हो।
‘राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताका ठाडो उल्लंघन हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं।’
सोमबार विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर सवारीसाधन शंकास्पद रूपमा राखिएको थियो।
रास्वपाले यो घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’
