विराटनगर। चालु आर्थिक वर्ष ३ अर्बभन्दा बढीको तरबुजाको बिउ (मगज) नेपाल आउनुमा भारत तस्करी गर्ने उदेश्य प्रहरीदेखि भन्सार अधिकारीहरुलाई जानकारी थियो।
मुलुकभित्र करोडको पनि खपत नहुने मगज भारत प्रहरी र भन्सार अधिकारीकै सहयोगबाट सम्भव भएको थियो। यो निरन्तर चलिरहेका बेला एकाएक गृहमन्त्री सुधन गुरुङ पूर्वको भ्रमणमा निस्किए।
त्यही बेलामा मगज लगायतका तस्करी नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन गुरुङले निर्देशन दिएका थिए। त्यो निर्देशनसँगै जनपद र सशस्त्र प्रहरीले सक्रियता देखाउन थालेको थियो। उनीहरुको सक्रियताले आइतबार साँझ मूर्त रुप पाएको छ। झापाको भद्रपुरमा आइतबार साँझ प्रहरीले एक गोदाममा छापा मारेर करिब ३८ टन तरबुजाको बिउ (मगज) बरामद गरेको छ। छापा मारेको विषयमा भने व्यापारीले विरोध जनाएका छन्।
करबिजक काटेर यस वस्तुलाई देशभित्र ओसारपसार गर्न र गोदाममा भण्डार गरेर राख्न पनि कुनै कानुनले बन्देज गरेको छैन। यसरी गोदाममा राखिएको मगजलाई प्रहरीले छापा मारेर, ताला फुटाएर बरामद गरी भन्सार कार्यालय बुझाएपछि उनीहरु रुष्ट बनेका हुन्।
झापा प्रहरीका एसपी वसुन्धरा खड्काको नेतृत्वमा आइतबार दिउँसो पुगेको ५५ प्रहरीको टोलीले भद्रपुर नगरपालिका-३ स्थित भीमलाल सुवेदीको गोदामघरमा भण्डार गरी राखिएको ३७ हजार ९२० किलो मगज बरामद गरी मेची भन्सार बुझाएको हो।
एसपी खड्काका अनुसार सुवेदीका घरगोदाममा यस्तो वस्तु छ भन्ने सूचना पाएपछि प्रहरीको टोली दिउँसोदेखि नै त्यहाँ तैनाथ गरिएको थियो। ‘हामीले सामानधनीलाई बिजबिजक लिएर आउन बारम्बार आउन आग्रह गर्यौँ तर आउनुभएन। यसपछि बाध्य भएर साँझ ६ बजे ताला फुटाएर सामान बरामद गरेका हौँ,’ उनले भनिन्, ‘यसको बिलबिजक नपाएपछि हामी बरामद गर्न बाध्य भएका हौँ।’
तर सामानधनी राजेन्द्र थापा मगरको भनाइ ठिक उल्टो छ। उनले भने, ‘म प्रहरीले फोन गर्दा इलाममा थिएँ। मैले उहाँहरूलाई आफू भोलि सोमबार बिहान मात्र आइपुग्ने र आउनेबित्तिकै बिलबिजक लिएर उपस्थित हुने बताएको थिएँ।’
व्यवसायी राजेन्द्रले थपे, ‘मैले कर तिरेर उक्त सामान काठमाडौंमा खरिद गरेर भद्रपुरसम्म ल्याएको हुँ। सबै कागजात छन् भन्दाभन्दै पनि ताल्चा फुटाएर लैजानु भएको छ। आज म भद्रपुर आइपुगेको छु। अब बिलबिजक लिएर जिल्ला प्रहरी जाँदैछु।’
उनले प्रहरीको व्यवहार र कामकारबाहीले व्यवसायीमा त्रास फैलिएको प्रतिक्रिया व्यक्त गरे।
दुई आयातकर्ताको देखियो मगज
भद्रपुरका राजेन्द्रले काठमाडौंबाट खरिद गरी ल्याएको भनिएको मगज पूर्वको चर्चित सुपारी समूह कुबेर एक्जिम र वीरगंज पशुपति खन्डेलवालको पशुपति एक्जिमको रहेको खुलेको छ। कुबेर एक्जिमले केपी ओली प्रधानमन्त्री भएका बेला सुपारी एकपटक २५ हजार र दोस्रोपटक १२ हजार टन आयातको कोटा पाएको थियो।
कुबेर एक्जिम काठमाडौँमा दर्ता भएको व्यावसायिक कम्पनी हो। त्यसैगरी कुनै समय संघईको रिद्धिसिद्धि ग्रुपमा जागिरे खन्डेलवाल अहिले आफैं ठुला आयातकर्ता भएका छन्। उनले पशुपति एक्जिम नामको फर्मबाट मगज आयात गरेका थिए। राजेन्द्रले कुबेर र पशुपति दुबै कम्पनीसँग उक्त वस्तु खरिद गरेका थिए।
राजेन्द्रले आफूले उक्त वस्तु काठमाडौंमा खरिद गरेको बताए पनि प्रहरीले हेडक्वार्टरमा पठाएको कागजात हेर्दा उक्त वस्तु पशुपति र कुबेरका वीरगंजको शाखा कार्यालयबाट खरिद गरेको देखिन्छ। पशुपति र एक्जिम दुबै कम्पनीले उक्त वस्तु प्रति किलो १६० मा माँ दुर्गालाई विक्री गरेको बिलमा देखिएको छ ।
उनले माँ दुर्गा अर्डर सप्लायर्स नामको कम्पनीबाट उक्त सामान खरिद गरी भद्रपुर ल्याएको प्रहरीको भनाइ छ।
नेपालमा मगजको आयात गर्ने व्यवसायी सीमित मात्र देखिएका छन्। जसमा वीरगंजका पशुपति खण्डेलवाल, काठमाडौंका तेजकरण जैन र सुपारीसमूह लगायतका छन्।
आतंकित छन् व्यवसायी
प्रहरीले भद्रपुरमा गरेको छापा र बरामदले व्यवसायी भयभीत देखिएका छन्। उनीहरूको प्रश्न छ, ‘आयात गर्न दिने, देशभित्र ओसारपसार, कानुनअनुसार गोदाम भाडामा लिएर भण्डार गर्न दिएर त्यही गोदामबाट जबर्जस्ती छापा मारेर बरामद गर्ने कस्तो शैली हो ?’ विराटनगरका आयातकर्ता हेमकरण दुगडले प्रश्न गरे।
व्यवसायी दुगडले भने, ‘अवैध आयातनिर्यात गर्दागर्दै सीमाक्षेत्रमा पक्रिएको भए त्यो जस्टीफाई हुन्थ्यो । तर कानुनबमोजिम खरिद गरेर भण्डार गरिएको सामान बरामद गर्नु भनेको दुःखदायी घटना हो।’