BIZMANDU
www.bizmandu.com

सरकारको विरोध भएपछि योजनाबद्ध रुपमै रचियो प्लट, पसलदेखि मिडियामा गाडी राखेर अवरोध

२०८३ असार २९

सरकारको विरोध भएपछि योजनाबद्ध रुपमै रचियो प्लट, पसलदेखि मिडियामा गाडी राखेर अवरोध
सरकारको विरोध भएपछि योजनाबद्ध रुपमै रचियो प्लट, पसलदेखि मिडियामा गाडी राखेर अवरोध


काठमाडौं। गणेश नेपालीको आत्मदाह र कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको व्यवस्थापनका विषयमा सरकारविरुद्ध देशभरि नै चर्को विरोध भएपछि रणनीतिक रुपमा सवारीसाधन तेर्स्‍याउनेदेखि फूटपाथमा पसल राखेर काठमाडौं उपत्यका अस्तव्यस्त बनाइएको छ।

Tata
GBIME
Nepal Life

शनिबार र आइतबार राजधानीका मुख्य सडकमा एकाएक पार्किङदेखि फूटपाथ पसलसम्म ह्वार्वह्वार्ती देखिएका थिए। त्यो सोमबार अझै अगाडि बढेर प्रमुख सञ्चारमाध्यमको गेट अगाडि गाडी राखेर विरोध जनाइएको थियो। स्रोतका अनुसार सरकारको विरोधका विरुद्धमा रणनीतिक रुपमै गरिएको योजना देखिएको छ। प्रायः एकै समयमा सवारीहरु पार्किङ गरिएको थियो।

‘सरकारलाई फेल गराउन खोजेको भन्दै योजनाबद्ध रुपमै चालिएको कदम हो,’ स्रोतले भन्यो, ‘नभए शनिबार र आइतबार फूटपाथमा त्यसरी एकैपटक पसलदेखि सवारी साधनसम्म अव्यवस्थित हुने थिएन।’ स्रोतका अनुसार आइतबार नै सरकारको विरोध गर्ने सञ्चारमाध्यमको अगाडि गाडी राखेर अवरोध गर्ने रणनीति बनेको थियो। ‘यो आइतबार नै तयार भएको रणनीति हो। सरकारको विरोध भएपछि अवरोध गर्नैपर्छ भन्ने रणनीति अनुसार भएको हो,’ स्रोतले भन्यो।

सोमबार बिहानैदेखि तीनकुनेमा रहेको कान्तिपुर पब्लिकेसन अगाडि सवारी राखिएको छ। मोटरसाइकल मात्र छिर्न मिल्ने गरी गेटैमा गाडी पार्किङ गरिएको छ।

कान्तिपुर बाहिर बा प्रदेश ०१-०३४ च ८४८० नम्बरको इभी गाडी पार्क गरिएको हो। बिहानै कान्तिपुर व्यवस्थापनले नेपाल प्रहरीलाई जानकारी गराए पनि अहिलेसम्म गाडी नहटाइएको कान्तिपुर पब्लिकेसनका महाप्रबन्धक मनोज बस्नेतले बताए।

‘बिहान ७ बजेतिर राखेको देखियो। तत्काल नै प्रहरीलाई खबर गर्‍यौं। आएर हेरेर जानुभयो। तर, अहिलेसम्म हटेको छैन। किन र कसले ल्याएको अनुसन्धान भएको जानकारी दिनु भएको छ,’ बस्नेतले भने।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले घटनाको छानबिन भइरहेको बताए।

‘सवारीधनी को हो भनेर खोजिरहेका छौं। एक स्थानमा शंकास्पद पनि देखिएको छ। अहिलेलाई ह्विललक लगाएका छौं,’ काफ्लेले भने।

त्यस्तै, बुद्धनगरमा रहेको अनलाइनखबर डटकमको गेट अगाडि पनि गाडी पार्किङ गरिएको छ। मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको अगाडि पनि सवारी पार्क गरिएको छ। जहाँ भित्तामा ‘नो पार्किङ’ लेखिए पनि गाडी राखेर गएपछि चालक वा सवारीधनी देखापरेका छैनन्।

भाटभटेनी बाहिर पनि यसरी नै गाडी राखिएको छ।

गत बिहीबार राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाह गरेपछि सञ्चारमाध्यमले सरकारको आलोचना भएको विषयमा समाचार लेखेका थिए। सामाजिक सञ्जालमा अहिले सरकारको चर्को विरोध भइरहेको छ।

अघिल्ला सरकारको समयमा प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेका थिए। त्यसबेला तत्कालीन काठमाडौं महानगरका प्रमुख रहेका वालेन्द्र शाहले सरकारको आलोचना गर्दै राज्यलाई जिम्मेवार ठहर्‍याएका थिए।

बालेन्द्र शाहको नेतृत्वमा बसेको सरकारको कामकारबाहीलाई लिएर शुक्रबार नेपालीको मृत्यु भएपछि अघिल्लो सरकार र अहिलेको सरकार एउटै भएको भन्दै विरोध भइरहेको हो।

त्यस्तै नदी किनारामा रहेका सुकुम्बासीलाई उठाएर होल्डिङ सेन्टरमा राखे पनि त्यहाँ पनि बाढीले बिजोग पारिएको भन्दै पनि सरकारको विरोध भइरहेको छ।