BIZMANDU
www.bizmandu.com

चीनका राष्ट्रपतिको रोजाइमा पर्ने होङ्छी र बीएआईसी ब्रान्ड अब नेपाल भित्रिने तयारीमा

२०८३ असार २९

चीनका राष्ट्रपतिको रोजाइमा पर्ने होङ्छी र बीएआईसी ब्रान्ड अब नेपाल भित्रिने तयारीमा
चीनका राष्ट्रपतिको रोजाइमा पर्ने होङ्छी र बीएआईसी ब्रान्ड अब नेपाल भित्रिने तयारीमा


काठमाडौं। चिनियाँ राष्ट्रपति तथा उच्च सरकारी अधिकारीहरूले प्रयोग गर्ने प्रिमियम अटोमोबाइल ब्रान्ड बीएआईसी र होङ्छी नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन्। दुवै ब्रान्ड आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Vigo
GBIME
Tata

चीनको सरकारी स्वामित्वमा रहेको बीएआईसी समूहअन्तर्गतका बीएआईसी र आर्कफक्स ब्रान्ड नेपाल भित्र्याउने जिम्मेवारी लक्ष्मी ई-मोबिलिटीले पाएको छ। कम्पनीले पहिलो चरणमै अफरोड क्षमतायुक्त बिजे३०ई स्ट्रङ हाइब्रिड एसयूभी नेपाली ग्राहकसमक्ष ल्याउने तयारी गरिरहेको छ।

यससँगै चीनको प्रतिष्ठित प्रिमियम लक्जरी ब्रान्ड होङ्छी पनि नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्न लागेको छ। स्रोतका अनुसार होङ्छीको आधिकारिक विक्रेताको जिम्मेवारी विशाल ग्रुपले लिएको छ।

होङ्छी चीनकै सबैभन्दा प्रतिष्ठित लक्जरी कार ब्रान्डमध्ये एक मानिन्छ। यो ब्रान्ड विशेषगरी चिनियाँ उच्च सरकारी अधिकारीहरूको आधिकारिक सवारीका रूपमा परिचित छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत विभिन्न औपचारिक कार्यक्रममा होङ्छीका विशेष रूपमा तयार गरिएका लिमोजिन प्रयोग गर्दै आएका छन्। यही कारण होङ्छीलाई चीनको ‘राष्ट्रपतिको गाडी’ भनेर समेत चिनिने गरिन्छ।

नेपालमा पछिल्ला केही वर्षयता चिनियाँ विद्युतीय र हाइब्रिड सवारीप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। यस्तो अवस्थामा बीएआईसी र होङ्छीको आगमनले नेपाली अटोमोबाइल बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ।

विशेषगरी प्रिमियम एसयूभी, लक्जरी इलेक्ट्रिक कार र अत्यधुनिक प्रविधियुक्त सवारीसाधनको खण्डमा यी ब्रान्डले नयाँ विकल्प थप्ने विश्वास गरिएको छ।