काठमाडौं। सरकारले आश्रय दिएको स्थानमा डुबानमा परेर सुकुम्बासीको बिचल्ली भएपछि चौतर्फी आलोचना बढिरहँदा पीडितहरुलाई मन्त्रीहरुले फकाउने प्रयास गरेका छन्।
कीर्तिपुरमा डुबानमा परेका सुकुम्बासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारेर सरकारका विभिन्न ६ मन्त्री आइतबार अपराह्न उनीहरुलाई फकाउन पुगेका हुन्।
गृहमन्त्री सुधन गुरुङ, महिलामन्त्री सीता वादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सरकरका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोख्रेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव होल्डिङ सेन्टर अवलोकन गर्न पुगेका थिए।
भूमि व्यवस्थामन्त्री रावलले सुकुम्बासीलाई कसैले पनि हटाउन नसक्ने गरी लालपुर्जा दिनका लागि सरकारले काम गरिरहेको बताइन्।
‘भोलि तपाइँको पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने गरी सरकारले काम गरिरहेको छ। नतिजामुखी कामका लागि समय लाग्छ, तर यो काम दिगो हुनेछ,’ उनले भनिन्, ‘म इमोसनल भएर आजै लालपूर्जा दिउँला, तर भोलि कसैले मुद्दा हालिदियो भने त्यो खोसिन सक्छ। त्यसैले नागरिकता लगायतका आवश्यक कागजात र विवरण पूरा गर्नुपर्छ। यो तपाइँहरूलाई नै सुरक्षित गर्नका लागि हो।’
रावलले विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई विशेष प्राथमिकता राखेर काम गरिरहेको बताइन्।
मन्त्रीहरुले सुकुम्बासीसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।