काठमाडौं । बसेरा बुटिक होटलले ‘गाला डिनर’ को सफल आयोजना गरेको छ। बबरमहलमा संचालित यो बुटिक होटलले आपसी संजाल विस्तार, सद्भाव र सहकार्य सुदृढ गर्ने उद्देश्यले जुलाई १० मा सो कार्यक्रम आयोजना गरेको थियो।
सो कार्यक्रममा पर्यटन व्यवसायी र उद्योगका व्यावसायिक व्यक्तित्वहरुको साथै बुटिक होटललाई साथ दिँदै आइरहेका व्यक्तिहरुको उपस्थिति थियो।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत ऐर समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित थिए। नेपालको पर्यटन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव सँगालेका ऐरले कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रको सम्भावनाहरु बारे आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा बसेरा बुटिक होटलका प्रबन्ध निर्देशक सुलभ पण्डितले स्वागत मन्तव्य राख्दै पर्यटन क्षेत्रमा आपसी साझेदारीलाई बलियो बनाउन सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए। उनले सबै मिलेर नेपालको हस्पिटालिटी उद्योगलाई अझ उच्च स्थानमा पुर्याउनुपर्ने बताएका थिए।
कार्यक्रममा लकी ड्र अन्तर्गत क्रिष्टल एड्भेन्चर ट्राभल एण्ड टुर प्रालिकी शोभना बज्राचार्यले बसेरा बुटिक होटलमा ‘कम्प्लिमेन्ट्री स्टे’ र सिल्क होलिडेज प्रालिकी लोरिया महर्जनले गार्डन अफ ड्रीम्सस्थित केसर क्याफेमा ‘कम्प्लिमेन्ट्री डाइनिङ’ को उपहार जितेका थिए।
विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारहरू समावेश गरिएको भव्य रात्रभोजसँगै कार्यक्रम समापन भएको थियो।
अन्तर्राष्ट्रिय स्तरको सेवा र नेपालीपन झल्कने आतिथ्यताका लागि परिचित बसेरा बुटिक होटलमा ५० वटा सुविधायुक्त कोठाहरु, डबल बेसमेन्ट पार्किङ, अत्याधुनिक स्पा, रुफटप स्विमिङ पुलका साथै बेस क्याम्प क्याफे, द मन्त्र, र द भन्सा जस्ता डाइनिङहरु पनि संचालित छन्।
यसका साथै होटलले केशर महलमा रहेको ऐतिहासिक गार्डन अफ ड्रीम्स भित्र प्रख्यात ‘केशर क्याफे’ समेत संचालन गर्दै आएको छ।