काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कीर्तिपुरको होल्डिङ सेन्टरबाट गिराफ्तारमा परेका मजिद अन्सारीलगायतलाई तत्काल रिहाइको माग गरेका छन्। फरक मत सुन्न नसक्नु राज्यको चरम कायरता भएको थापाले टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा थापाले राज्य करुणाविहीन र असहिष्णु भएको टिप्पणी गरेका छन्।
थापाले फेसबुकमा लेखेका छन्, ‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ। करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि! लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ। आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो। फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!