विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा भएका व्यावसायिक संघ-संस्थाले २० वर्षदेखि सुनसरीको अमडुवामा रहेको ६ सय बिघा जमिनमा औद्योगिक ग्राम बनाउन माग गरिरहेका छन्।
व्यवसायीले औपचारिक रूपमा नेपाल सरकारको भएको तर साल्ट ट्रेडिङले उपभोग गरिरहेको यस जमिनमा औद्योगिक ग्राम बनाउन माग गर्दै आएका हुन्।
यसैबिच विराटनगरस्थित तीन मुख्य व्यावसायिक संस्थाले उक्त स्थलमा सत्तापक्षका एक सांसदलाई अवलोकन गराएका छन्।
सीएनआई कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद यज्ञमणि न्यौपानलेलाई अवलोकन गराएका हुन्।
सो अवसरमा सांसद् न्यौपानेले उक्त स्थानमा औद्योगिक ग्रामको स्थापना गर्न आफूले संघीय सरकारसमक्ष ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
अवलोकन भ्रमणमा सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका कार्यवाहक अध्यक्ष अनिल शाह, सचिव अमित शारडालगायतका व्यवसायीको सहभागिता थियो।

त्यसैगरी विराटनगर महानगरपालिका वडा नम्बर ३ मा पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा औद्योगिक व्यापारिक प्रदर्शनीस्थल निर्माण गर्न सीएनआई कोशीका अध्यक्ष शारडाको संयोजकत्वमा समिति बनाइएको छ।
समितिका सदस्यमा एफएनसीसीआई कोशीका अध्यक्ष राजेन्द्र राउत, सदस्यमा उद्योग संगठनका अध्यक्ष राठी, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, सीएनआई कोशीका वरिष्ठ उपाध्यक्ष मुन्दडालगायत छन्।