काठमाडौं। नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित साइबर सुरक्षा कम्पनी क्रतिकल टेकले भारतीय पुँजी बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ।
कम्पनीको आईपीओ बम्बई स्टक एक्सचेन्ज (बीएसई)मा २०५.०८ गुणा ओभरसब्सक्राइब हुँदै नयाँ इतिहास रचेको हो।
यो लिस्टिङलाई भारतीय सेयर बजारमा नेपाली उद्यमी प्रत्यक्ष रूपमा जोडिएको पहिलो सूचीकरणका रूपमा हेरिएको छ। आईपीओ असार १६ गते खुला भएर असार १८ गते बन्द भएको थियो।
३ दिनको आवेदन अवधिमै कम्पनीले लगानीकर्ताबाट अत्यधिक विश्वास र समर्थन पाएको जनाएको छ। उच्च आवेदनले कम्पनीको व्यावसायिक सम्भावना र भविष्यप्रतिको सकारात्मक अपेक्षा झल्काएको विश्लेषण गरिएको छ।
क्रतिकल टेक सन् २०१३ मा इन्जिनियरिङ अध्ययनका क्रममा ३ कलेज साथी दीपजंग थापा, पवन कुमार र परतोष कुमारले स्थापना गरेका थिए। हाल कम्पनी एआईमा आधारित अत्याधुनिक साइबर सुरक्षा समाधान उपलब्ध गराउने विश्वसनीय कम्पनीका रूपमा स्थापित भएको छ।
नेपालको खोटाङ स्थायी घर भएका थापा कम्पनीका सह-संस्थापक तथा प्रमुख संचालन अधिकृत (सीओओ) हुन्। उनले भारतको मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी)बाट बीटेक अध्ययन गरेका हुन्।
थापाले यसअघि डिजिटल भुक्तानी कम्पनी पेटीएममा प्रोडक्ट म्यानेजरका रूपमा पनि काम गरेका थिए। त्यस अनुभवले कम्पनी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
‘खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिङ फ्लोर पुग्दासम्मको यो यात्रा मेरा लागि सपनाजस्तै हो। लगानीकर्ताको यति ठूलो उत्साहले हाम्रो सोचलाई अनुमोदन गरेको देख्दा हामी निकै नै धन्य भएका छौँ। यस आईपीओ नै हाम्रो अन्तिम लक्ष्य होइन, यो त महत्त्वाकाङ्क्षी यात्राको सुरुवात मात्र हो,’ थापाले भने।
कम्पनी स्थापना पछाडिको प्रेरणा पनि निकै रोचक छ। सन् २०१३ मा सह-संस्थापकमध्ये एकजनाको इमेल कलेजको साझा कम्प्युटरबाट ह्याक भएपछि तीनै जना साथीले साइबर सुरक्षाको आवश्यकता गम्भीर रूपमा महसुस गरेका थिए।
त्यही घटनाले उनीहरूलाई संस्थागत स्तरका व्यावहारिक साइबर सुरक्षा समाधान विकास गर्न प्रेरित गरेको कम्पनीले जनाएको छ। त्यसपछि उनीहरूले साइबर सुरक्षालाई मुख्य व्यवसाय बनाएर कम्पनी स्थापना गरेका थिए।
हाल क्रतिकल टेकले एआई सञ्चालित ‘सफ्टवेयर एज ए सर्भिस’ (सास)मा आधारित सुरक्षा प्लेटफर्म, विशेषज्ञ परामर्श तथा नियामकीय कम्प्लायन्स सेवा प्रदान गर्दै आएको छ। कम्पनीका सेवा बैंक तथा वित्तीय संस्था, फिनटेक, दूरसञ्चार, सूचना प्रविधि, स्वास्थ्य, औषधि, ई-कमर्स र उत्पादन क्षेत्रसम्म फैलिएका छन्।
कम्पनीले भारतसँगै पश्चिम एसिया र अन्य अन्तर्राष्ट्रिय बजारका ग्राहकलाई पनि सेवा दिइरहेको जनाएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
झन्डै ९ वर्षअघि ४ जना एन्जल इन्भेस्टरबाट प्रारम्भिक लगानी जुटाएको कम्पनीको वर्तमान मूल्य करिब ३२३ करोड नेपाली रुपैयाँ पुगेको छ। आईपीओबाट संकलित नयाँ पुँजी अमेरिका, पश्चिम एसिया लगायतका बजारमा आक्रामक विस्तारका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।
नेपालमा पनि कम्पनीले आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। त्यसका लागि क्रतिकल टेकले काठमाडौंस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजिजसँग साझेदारी गर्दै साइबर सुरक्षा क्षेत्रमा सहकार्य अघि बढाएको जनाएको छ।