BIZMANDU
www.bizmandu.com

आयात र ढुवानी खर्च बढेपछि खाद्यान्न पुनः महँगियो, चामलको मूल्य निरन्तर उकालो

२०८३ असार २७

आयात र ढुवानी खर्च बढेपछि खाद्यान्न पुनः महँगियो, चामलको मूल्य निरन्तर उकालो
आयात र ढुवानी खर्च बढेपछि खाद्यान्न पुनः महँगियो, चामलको मूल्य निरन्तर उकालो


काठमाडौं। बजारमा खाद्यान्नको मूल्य बढ्न थालेको छ। अघिल्ला वर्ष असार मसान्ततिर खाद्यान्न केही सस्तो हुने गरे पनि यस वर्ष भने उल्टो मूल्य बढिरहेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षमा चामल, दाल र गेडागुडीको मूल्य क्रमशः बढ्दै गएको छ। खुद्रा व्यवसायीका अनुसार आयातकर्ता र उत्पादकले नै बढेको मूल्यमा सामान पठाउन थालेपछि यसको असर बजारसम्म पुगेको हो।

उद्योगीहरूले भने उद्योगबाट मूल्य सामान्य रूपमा मात्र बढेको दाबी गरेका छन्। उनीहरूका अनुसार खुद्रा बजारमा देखिएको ठूलो मूल्यवृद्धिको मुख्य कारण ढुवानी र व्यापारिक तहको लागत हो।

हाल बजारमा चामलको मूल्य ब्राण्डपिच्छे १०० देखि २०० रुपैयाँसम्म बढेको छ। केही ब्रान्डको जिरा मसिनो चामल भने पछिल्लो ३ महिनामा बोरामै ४०० रुपैयाँभन्दा बढी महँगिएको छ।

बास्मती चामलको मूल्य पनि बोरामा ५०० रुपैयाँभन्दा बढीले बढेको व्यवसायीहरू बताउँछन्। दाल र गेडागुडीको मूल्य प्रति किलो २० रुपैयाँसम्म बढेको छ।

विगतका वर्षमा असार मसान्तमा उद्योगदेखि खुद्रा व्यापारीसम्मले स्टक खाली गर्न सस्तोमा बिक्री गर्ने चलन थियो। वर्षायाममा खाद्यान्न बिग्रने र किरा लाग्ने जोखिम हुने भएकाले व्यापारीहरूले मूल्य घटाउने गर्थे।

यस वर्ष भने अवस्था फरक देखिएको छ। इन्धनको लागत बढेका कारण व्यापारीहरूले खाद्यान्नको मूल्य घटाउनुको सट्टा बढाएका छन्।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार बजारमा खाद्यान्नको माग धेरै छैन। तर, उद्योग र होलसेलबाटै महँगो मूल्यमा सामान आउँदा खुद्रा बजारमा मूल्य अझै बढ्ने गरेको छ।

उनले अहिले दाल, चामल र तेलको मूल्यवृद्धिको कारण ढुवानी खर्च देखाइँदै आएको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिसक्दा पनि दैनिक उपभोग्य वस्तुको मूल्य भने अझै घट्न सकेको छैन।

तुलाधरका अनुसार गत वर्ष यही समयमा खाद्यान्न सस्तो हुने गरेको थियो। तर, यस वर्ष अमेरिका-इरान तनावको प्रभावले अन्तर्राष्ट्रिय बजारमा समेत असर परेकाले खाद्यान्न थप महँगिएको उनको भनाइ छ।

उनका अनुसार अहिले चामलको मूल्य बोरामा ५० देखि १०० रुपैयाँसम्म बढेको छ। गुणस्तरअनुसार जिरा मसिनो २५ किलो चामलको मूल्य २४ सय रुपैयाँभन्दा माथि पुगेको छ।

खाने तेलको मूल्य प्रति लिटर करिब १० रुपैयाँसम्म बढेको छ। खुद्रा बजारमा सूर्यमुखी तेल प्रति लिटर २८० देखि २९० रुपैयाँमा बिक्री भइरहेको छ।

बानेश्वरस्थित सुनादेवी किराना स्टोरका संचालक समर कठायतले गत वर्षको तुलनामा यस वर्ष खाद्यान्न महँगो रहेको बताए। उनका अनुसार पहिले असार मसान्तमा ऋण तिर्न र कारोबार बढाउन व्यापारीहरूले सस्तोमा बिक्री गर्ने गर्थे।

उनले वर्षायाममा खाद्यान्न लामो समय भण्डारण गर्दा बिग्रने र किरा लाग्ने जोखिम रहने भएकाले अहिले मूल्य घटाउने अवस्था नरहेको बताए। उनका अनुसार खाने तेल केही सस्तो भए पनि तोरीको तेलको मूल्य अझै महँगो छ।

धारा ब्रान्डको तोरी तेल प्रति लिटर ३७० देखि ३८० रुपैयाँमा बिक्री भइरहेको छ। स्थानीय तोरीको तेलको मूल्य प्रति लिटर करिब ४०० रुपैयाँ पुगेको छ।

कठायतका अनुसार चामलको मूल्य बोरामा १०० रुपैयाँभन्दा बढीले बढेको छ। अहिले जिरा मसिनो २५ किलो चामल ब्रान्डअनुसार २४०० देखि २४५० रुपैयाँसम्म पुगेको छ भने ३० किलो मोटा चामलको मूल्य करिब १९०० रुपैयाँ छ।

उनका अनुसार मास, राजमा, केराउ र चनाजस्ता दाल तथा गेडागुडीको मूल्य पनि होलसेलबाटै प्रति किलो १० देखि २० रुपैयाँ बढेर आएको छ। त्यसको प्रत्यक्ष असर खुद्रा बजारमा परेको उनले बताए।

नेपाल चामल, तेल तथा दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले उद्योगबाट मूल्य सामान्य रूपमा मात्र बढेको बताए। उनका अनुसार खुद्रा बजारमा देखिएजस्तो ठूलो मूल्यवृद्धि उद्योगबाट भएको होइन।

उद्योगबाट सामान बाहिरिएपछि ढुवानी र व्यापारिक लागतका कारण मूल्य धेरै बढेको उनले बताए। पछिल्ला २ महिनामा धानको मूल्य अप्रत्याशित रूपमा बढेकाले चामल पनि महँगिएको उनको भनाइ छ।

अग्रवालका अनुसार उद्योगबाट जिरा मसिनो चामलको मूल्य बोराको करिब २३०० रुपैयाँ र मोटा चामलको १७०० रुपैयाँ छ। बास्मती चामलको मूल्य भने अझै उच्च छ।

उनले दालको मूल्य भने अघिल्लो अवधिको तुलनामा करिब १० प्रतिशतसम्म घटेको जानकारी दिए। त्यसैले सबै खाद्यान्नको मूल्य समान रूपमा नबढेको उनको दाबी छ।

साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधानले पनि चामलको मूल्य उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार भारतबाटै धान र चामल महँगो मूल्यमा आयात हुन थालेपछि नेपाली बजारमा पनि मूल्य उकालो लागेको हो।

उनले पछिल्ला २ महिनामा जिरा मसिनो चामल ब्रान्डअनुसार बोरामा ४०० रुपैयाँभन्दा बढीले महँगिएको बताए। अहिले पनि बोरापिच्छे ५० देखि १०० रुपैयाँसम्म मूल्य बढ्ने क्रम जारी रहेको उनले जानकारी दिए।

उनका अनुसार सोना मन्सुली चामलको मूल्य बोरामा करिब २०० रुपैयाँ बढेको छ। बास्मती चामलको मूल्य भने बोरामा ५०० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

प्रधानका अनुसार तेलको मूल्य केही घटेको भए पनि दाल र गेडागुडीको मूल्य पछिल्ला दिनमा प्रति किलो करिब ५ रुपैयाँसम्म बढेको छ। बजारमा चामलको मूल्य भने अझै घट्ने संकेत नदेखिएको उनको भनाइ छ।