काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि दरखास्त खुलेको छ। बिगतमा नियुक्ति पाएकाहरुलाई सरकारले अध्यादेश ल्याएर एकैपटक हटाएका निकायहरुमा नयाँ नियुक्ति प्रक्रिया थाल्दा कोष पनि त्यसमध्ये परेको हो।
अर्थ मन्त्रालयको निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न शनिबार सूचना जारी गरेको छ। सूचनाअनुसार आवेदकले शैक्षिक योग्यताको हकमा अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेको हुनुपर्छ।
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ४९ को उपदफा (३) तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिमको योग्यता र अनुभव भएको हुनुपर्छ। साथै सोही ऐन र मापदण्डका व्यवस्थाहरू बमोजिम अयोग्य ठहरिएको हुन नहुने स्वघोषणा गर्नुपर्नेछ।
उम्मेदवारले दरखास्तका साथमा कोषको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी बढीमा ५ हजार) शब्दको व्यावसायिक कार्ययोजना ३ प्रति तयार गरी खामबन्दी रूपमा बुझाउनुपर्नेछ। उक्त कार्ययोजनामा कोषको विद्यमान अवस्थाको विश्लेषण, सोट एनालिसिस, रणनीतिक सुधारका क्षेत्रहरू, सुशासन र सुविधाहरूको समयसारिणीसहितको खाका समावेश हुनुपर्नेछ।
दरखास्त दिनका लागि २१ दिनको म्याद दिइएको छ। आवेदनका साथमा नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, कार्यानुभवका कागजातहरू, बायोडाटा, दुई प्रति पासपोर्ट साइजको फोटो, सेवारत निकायको विभागीय स्वीकृति पत्र (यदि बहालवाला भए) र स्वघोषणा फाराम सहित सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी दरखास्त पेस गर्नुपर्ने सूचनामा छ।