आइफोन निर्माता कम्पनी एप्पलले ओपनएआईमाथि आफ्ना व्यापारिक गोपनीयताहरू (ट्रेड सिक्रेट्स) चोरी गरेको आरोप लगाउँदै क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेको छ। च्याटजीपीटीका लागि आफ्नै हार्डवेयर निर्माण गर्ने प्रयासमा लागेको ओपनएआईले एप्पलका कर्मचारीहरूलाई प्रलोभनमा पारेर गोप्य सूचनाहरू संकलन गरेको एप्पलको दाबी छ।
अदालतमा दर्ता गरिएको अभियोग पत्रमा ओपनएआईले एप्पलबाट लैजान लागेका कर्मचारीहरूलाई कम्पनीको आन्तरिक छानबिनबाट कसरी बच्ने भन्नेसम्मको सिकाएर गोप्य जानकारीहरू बाँड्न प्रोत्साहित गरेको उल्लेख छ। यो मुद्दा एप्पलका पूर्वकर्मचारीहरूले ओपनएआईको फाइदाका लागि एप्पलका व्यापारिक गोपनीयताहरू चोरी गरेको विषयमा केन्द्रित रहेको र यसलाई रोक्नका लागि कानुनी कदम चालिएको एप्पलले जनाएको छ।
मुद्दामा ओपनएआईका साथै एप्पलका दुई पूर्वकर्मचारीहरूलाई पनि विपक्षी बनाइएको छ। तीमध्ये एक आइफोन, एप्पल वाच र आइपडको डिजाइनमा महत्त्वपूर्ण भूमिका खेलेका र हाल ओपनएआईका प्रमुख हार्डवेयर अधिकारी रहेका ट्याङ ट्यान हुन्। अर्का विपक्षी चाङ लिउ हुन्, जो एप्पलका पूर्व इलेक्ट्रिकल इन्जिनियर हुन् र उनलाई कम्पनीले आफ्ना संवेदनशील उत्पादन विकासका कामहरूको जिम्मेवारी दिएको थियो। लिउ यसै वर्षको सुरुमा एप्पल छाडेर ओपनएआईमा आबद्ध भएका थिए।
यस विषयमा प्रतिक्रिया दिँदै ओपनएआईका प्रवक्ता ड्र्यु पुसातेरीले आफूहरूले अभियोग पत्रको अध्ययन गरिरहेको बताएका छन्। उनले ओपनएआईलाई अन्य कम्पनीका व्यापारिक गोपनीयताहरूमा कुनै चासो नरहेको र आफूहरू संसारभरका मानिसहरूलाई सशक्त बनाउने नवीन प्रविधिको विकासमा मात्र केन्द्रित रहेको दाबी गरेका छन्।
ओपनएआईले हालसम्म आफूले कस्तो प्रकारको उपकरण निर्माण गरिरहेको छ भन्ने स्पष्ट पारेको छैन। यद्यपि, यसले परम्परागत उत्पादन र इन्टरफेसभन्दा बाहिर गएर एआईसँग अन्तर्क्रिया गर्ने नयाँ माध्यम खोजिरहेको बताएको छ। अमेजन र गुगलले घरहरूका लागि स्क्रिनविहीन स्पिकरहरू ल्याएको एक दशकपछि ओपनएआईले एआई प्रविधिलाई भौतिक रूप दिने प्रयास गरिरहेको छ। एप्पलले भने ओपनएआईको यो नयाँ हार्डवेयर व्यवसाय पूर्ण रूपमा एप्पलबाट चोरी गरिएका गोपनीयताहरूमा आधारित रहेको र यसको जग नै अवैध रहेको आरोप लगाएको छ।
आफ्ना गोप्य सूचनाहरू बाहिरिएको आशंकामा एप्पलले अनुसन्धान सुरु गर्दा ओपनएआईमा गएका पूर्वकर्मचारीहरूले योजनाबद्ध रूपमा विवरणहरू चोरेको फेला परेको बताएको छ। अभियोगका अनुसार लिउ र ट्यान दुवैले ओपनएआईमा काम सुरु गरिसकेपछि पनि एप्पलको गोप्य विवरण र फाइलहरूमा पहुँच बनाएका थिए। लिउले एप्पल छाडेपछि पनि आफूसँगै राखेको कम्पनीको उपकरणबाट हार्डवेयरसम्बन्धी कैयौँ गोप्य फाइलहरू डाउनलोड गरेको दाबी गरिएको छ। त्यस्तै, ट्यानले एप्पलमा कार्यरत रहँदै ओपनएआईमा अन्तर्वार्ता दिन आउने उम्मेदवारहरूलाई एप्पलका वास्तविक पार्टपुर्जाहरू नै साथमा लिएर आउन निर्देशन दिएको आरोप छ।
एप्पलले आफ्नो अनुसन्धानको सुरुवाती चरण अर्थात् गत फेब्रुअरी महिनामै यसबारे ओपनएआईलाई सचेत गराउन सम्पर्क गरेको तर ओपनएआईबाट कुनै प्रतिक्रिया नआएको जनाएको छ। एप्पलका प्रवक्ताले कम्पनीले आफ्ना टोलीको कडा परिश्रम र आविष्कारहरूको सधैं रक्षा गर्ने र त्यसका लागि आवश्यक सबै कदम चालिने स्पष्ट पारेका छन्।
च्याटजीपीटीको आगमनसँगै एआईको दौडमा पछि परेको एप्पलले केही वर्षअघि ओपनएआईसँग सहयोग मागेको थियो। सन् २०२४ मा यी दुई कम्पनीबीच सम्झौता भएपछि आइफोनको आफ्नै प्रविधि सिरीले प्रयोगकर्ताका आवश्यकता पूरा गर्न नसकेका खण्डमा च्याटजीपीटीलाई एआई सञ्चालित ‘जवाफ इन्जिन’ का रूपमा प्रयोग गर्न थालिएको थियो। तर, पछिल्लो समय यो साझेदारी तीव्र प्रतिस्पर्धामा परिणत भएको छ।
आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा ओपनएआईले एप्पलका पूर्व डिजाइनर जोनी आइभलाई एआई सञ्चालित उपकरण निर्माण गर्ने परियोजनाको नेतृत्व सुम्पिएको छ। विश्लेषकहरूका अनुसार यो उपकरणले भविष्यमा एप्पलका उत्पादनहरूलाई सिधै चुनौती दिन सक्छ। गत वर्ष ओपनएआईले आइभसँग मिलेर एआईसँग सञ्चार गर्ने नयाँ माध्यमका रूपमा एउटा गोप्य हार्डवेयरमा काम गरिरहेको घोषणा गरेको थियो। यसै सहकार्य अन्तर्गत ओपनएआईले आइभ, ट्यान र अन्य दुई जनाद्वारा सह-स्थापित प्रोडक्ट र इन्जिनियरिङ कम्पनी ‘आईओ प्रोडक्ट्स’ लाई करिब साढे ६ अर्ब डलरमा खरिद गरेको थियो।
यसअघि ‘आईवाईओ इंक’ नामको एउटा सानो प्रविधि स्टार्टअपले पनि उस्तै सुनिने नाम र विगतका व्यावसायिक अन्तर्क्रियाहरूका कारण जोनी आइभ र ओपनएआईका प्रमुख कार्यकारी सम अल्टम्यानविरुद्ध ट्रेडमार्क उल्लंघनको मुद्दा दायर गरिसकेको छ। उक्त स्टार्टअपले आफ्ना एक पूर्वकर्मचारीमाथि बजारमा नआएको उत्पादनको गोप्य स्केच बाहिर पठाएको आरोप लगाएको थियो र पछि ट्यानविरुद्ध पनि व्यापारिक गोपनीयता चोरीको दाबी थपेको थियो।
एप्पलको हालको मुद्दामा ‘आईओ प्रोडक्ट्स’ लाई पनि विपक्षी बनाइएको छ। यसअघि उक्त कम्पनी र ट्यानको प्रतिनिधित्व गर्ने वकिलहरूले यसबारे थप टिप्पणीका लागि ओपनएआईलाई नै सम्पर्क गर्न आग्रह गरेका छन्।
एप्पलको यो कानुनी कदम यस्तो समयमा आएको छ, जब ओपनएआईले वाल स्ट्रिटमा सार्वजनिक कम्पनीका रूपमा सेयर जारी गर्ने (आईपीओ) तयारी गरिरहेको छ र बजारमा एन्थ्रोपिक तथा गुगलजस्ता प्रतिद्वन्द्वीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। ओपनएआईले यसै वर्षको सुरुमा आफ्नो मुख्य उत्पादन च्याटजीपीटीमा ध्यान केन्द्रित गर्न केही व्यावसायिक शाखाहरू कटौती गरे पनि हार्डवेयर उपकरण निर्माणको कामलाई भने निरन्तरता दिइरहेको छ।
कम्पनीकी मुख्य वित्तीय अधिकारी (सीएफओ) सारा फ्रियरले यसै वर्षको अन्त्यसम्ममा उपभोक्ताहरूका लागि हार्डवेयर बजारमा आउने जानकारी दिएकी छन्। (एपी)