काठमाडौं। केही समयता बजारमा हरिया तरकारीको भाउ सामान्य छ। वर्षायाममा बाढीपहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाउ महँगो हुने गरेको थियो।
यतिबेला कालीमाटी थोक बजारमै अधिकांश हरिया तरकारी प्रति केजी ५० रुपैयाँभन्दा कम छन्। थोकमा सस्तो उठाएका खुद्रा बिक्रेताले पनि भाउमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा बिगतका तुलनामा केही राहत छ।
हाल बजारमा गोलभेंडा, आलु, बन्दा, काउली, मूला, भन्टा, बोडी लगायतका तरकारीहरु प्रति केजी १८ रुपैयाँदेखि ४४ रुपैयाँ छन्। अफसिजनका तरकारीहरुमात्रै प्रति केजी ५० रुपैयाँदेखि एक सयमाथि छन्।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेका दिन ६ लाख केजी हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढीपहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्।
एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाउ केजीमा ६६ रुपैयाँभन्दा बढीले घटेको छ।
नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवडाले यस पटक वर्षामा तरकारीको आपूर्ति सहज हुँदा भाउ सस्तो भएको बताए। ‘पहिले भन्दा यसपटक हरिया तरकारीको भाउ कम छ,’ उनले भने, ‘विभिन्न जिल्लाबाट भ्यालीमा भित्रिने तरकारीको परिमाण घटेको छैन।’ उत्पादक क्षेत्रबाट आपूर्तिमा सहज हुदा उपभोक्ताले सस्तो मूल्यमा तरकारी पाइरहेका उनले बताए।
अघिल्ला वर्ष बाढीपहिरोले खेतवारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो। तुलनात्मक रुपमा यसपटक कम वर्षा भएकाले किसानको खेतबारीमा फलेका तरकारी बजारको संकलन र ढुवानी सहज रुपमा आइरहेको छ। आलु, गोलभेंडा र काउली सस्तो हुँदा बजारमा तरकारी सस्तो भएको मानिन्छ। कालीमाटी थोक बजारमा हाल काउली प्रति केजी ३८ रुपैयाँ छ। बन्दा ४० रुपैयाँ र गोलभेडा प्रतिकेजी १३ रुपैयाँदेखि ४३ रुपैयाँ छ।
बजारमा तरकारी धेरै सस्तो हुँदा पनि बिक्री कम भएको अध्यक्ष खतिवडाले बताए। उपत्यकामा बढ्दो तरकारीको थोक बजार र किनेर खाने उपभोक्ताको उल्लेख्य संख्या विदेश पलायन हुँदा तरकारीको कारोबार पहिले भन्दा कम छ।
‘उपभोक्ताले सस्तोमा तरकारी पाइरहे पनि किसानले लगात मूल्य पाउन सकेका छैनन्,’ अध्यक्ष खतिवडाले भने। यतिबेला बजारमा स्वदेशी तरकारी धेरै छ। भारतबाट नगन्य मात्रामा तरकारी आइरहेको छ।
बर्खायाममा कतिपय उपभोक्ताको करेसा बारीमा नै सिजनल तरकारी हुने भएकाले बजारमा माग कम भएको पाइएको छ। यो समयमा घिउ सिमी, करेला, फर्सी, लौका, घिरौँला र फर्सीको मुन्टा बारीमै हुने भएकाले धेरै उपभोक्ताले बजारमा किन्दैनन्। जसले गर्दा बजारमा आएका तरकारीको खरिद कम हुने गरेको छ। आकाशे पानी लगातार पर्न थालेपछि हरिया तरकारीको मूल्य हालको भन्दा कम नहुने अवस्था रहेको महासंघले जनाएको छ।

कुनको कति छ मूल्य,
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको कालीमाटी थोक बजारमा गोलभेंडा ठूलो २० प्रतिशतले घटेर ४३ रुपैयाँ भएको छ। सानो गोलभेंड ३८ प्रतिशतले घटेर १३ रुपैयाँ छ। बन्दा २५ प्रतिशतले घटेर प्रति केजी ४०, काउली ४८ प्रतिशतले घटेर प्रति केजी ३८, सेतो मूला प्रति केजी १७, भन्टा ६६ प्रतिशतले घटेर १८, बोडी १६ प्रतिशतले घटेर प्रति केजी ३० रुपैयाँमा आइपुगेको छ।
त्यस्तै, मकै बोडी प्रति केजी ४५, मटरकोशा १३०, घिउ सिमी ३५, भटमास कोटा प्रति केजी ९३, लौका प्रति केजी ३०, घिरौँला प्रतिकेजी ३५ र हरियो फर्सी प्रति केजी २१ रुपैयाँ छ।
काँक्रो लोकल प्रति केजी ६५,भेडे खुर्सानी प्रति केजी ४६ रुपैयाँ छ। हरियो धनियाँ प्रति केजी ७० रुपैयाँ छ। आलुको मूल्य बढेर ४४ रुपैयाँ भएको छ। सुकेको प्याज २९ प्रतिशतले बढेर ५३ रुपैयाँ पुगेको छ।
बजारमा आलु, प्याज, गाजर ,च्याउ, फलफूलको मूल्य भने बढ्न थालेको छ।