BIZMANDU
www.bizmandu.com

गणेशको आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध

२०८३ असार २६

गणेशको आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध
गणेशको आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको असन्तुष्टि मुगुका गणेश नेपालीको आत्मदाहको घटनापछि झनै चर्किएको छ। 

Tata
GBIME
Nepal Life

शाह निकट नेताहरू सरकारको बचाउमा छन् भने सभापति रवि लामिछाने पक्ष आलोचनामा केन्द्रित छ। बालेनले सुकुम्वासी बस्तीमा डोजर चलाएदेखि असन्तुष्ट लामिछाने पक्ष सरकारको बजेट, पार्टी महाधिवेशन हुँदै बिहीबार नेपालीले गरेको आत्मदाहको घटनासम्म पुग्दा आक्रोशित बन्न पुगेको छ। २०७९ माघ ११ गते प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको बेला तत्कालीन सरकारविरुद्ध खनिएका लामिछाने आफैंले भने अहिले कुनै प्रतिक्रिया जनाएका छैनन्।

सरकारको कार्यशैलीका कारण नेपालीको निधन भएकाले गम्भीर भएर सोच्नुपर्ने लामिछाने निकट रास्वपा संसदीय दलका उप नेता गणेश पराजुलीले बताए। उनले सरकारको समीक्षा हुनुपर्ने बताए। ‘सरकारको नीति, योजना र कार्यक्रमले नागरिकले राहतको सास फेर्न पाउनुपर्ने हो। सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नुपरेको आरोप सही हो भने त्यसबारे गम्भीर भएर सोच्न आवश्यक,’ पराजुलीले भने। 

गणेश पराजुली

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपाका शाह पक्षीय सांसदहरू आत्मदाहको घटनामा राजनीति नगर्न भन्दै बचाउमा लागे भने लामिछाने समूहका सांसदहरू घटनाको छानबिन, राहत तथा सरकारको कार्यशैलीको विरोधमा केन्द्रित देखिए।

लामिछाने निकट सांसदहरूको हाउभाउ समेत आक्रोशित देखिएको थियो। लामिछाने निकट अर्का सांसद दीपक बोहराले किन आत्मदाह गरेको भन्दै शाह नेतृत्वको सरकारलाई प्रश्न गरेका थिए भने पहिलाकै सरकारको जस्तो शैलीले निरन्तरता पाएको भन्दै कटाक्ष गरे। ‘आज गणेश नेपाली किन आत्मदाह गर्न बाध्य भए? हिजो प्रेम आचार्यले आत्मदाह गर्दा त्यो पछिको सरकारले के गर्‍यो? हिजोको सरकारले सडकमा कोही भोको बस्नु पर्दैन भन्यो तर गरेन,’ उनले भने। 

अर्का सांसद पारसमणि गेलालले सरकारविरुद्ध आक्रोश नै व्यक्त गरेका थिए। सरकारमाथि प्रश्न उठ्न थालिसकेकाले समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। उनले सरकारका मन्त्रीले सोचेअनुसार काम नगरेको आरोप लगाए। ‘म आज बोलौं कि मौन बसौं। विकासको कुरा गरौं कि दुःखद निधनको? नागरिकको आवाज त बोल्नै पर्छ। यस्ता घटनाले हामीलाई गम्भीर प्रश्न सोधिरहेका छन्,’ उनले भने।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पनि सरकारको आलोचना गरेका थिए। उनले छानबिनको माग गर्दै भनेका थिए, ‘सरकारले उच्चस्तरीय छानबिन गरोस्। परिवारका लागि क्षतिपूर्ति, राहत, परिपूरण र भरणपोषणका लागि राज्यले उदार छाती देखाओस्।’

सांसद रञ्जु दर्शनाले पनि सरकारको आलोचना गरेकी थिइन्। ‘दैनिक निराशामा बाँचिरहेका लाखौँ युवाहरूको जीवन सहज हुने गरी सरकारले नीति ल्याउनुपर्छ र नागरिकका आधारभूत आवश्यकता पूरा हुनु नै मनको सबैभन्दा ठूलो सुरक्षा हो,’ उनले भनिन्।

रञ्जु दर्शना

शाहको बचाउमा को को?

नेपालीले काठमाडौं महानगर प्रहरीसँग पार्किङका विषयमा विवाद भएपछि आत्मदाह गरेका थिए। रास्वपाका लामिछाने पक्षका सांसदहरूले सरकारले युवामा आशा जगाउन नसकेको, शाहको शैली नबदलिएको भन्दै आलोचना गरे पनि शाह पक्ष भने त्यो मान्न तयार छैन। शाह निकटहरू आलोचना गर्नेहरूले मृत्युमा राजनीति गर्न खोजेको भन्दै बचाउमा उत्रिएका हुन्। ‘यो मानवीय संवेदनाको विषय भएकाले यसलाई राजनीतिक रूपमा पक्ष-विपक्षको बहस र समाज विभाजन गर्ने माध्यम बनाइनु हुँदैन,’ शाह निकट सांसद प्रशान्त उप्रेतीले भने।

अर्का सांसद गणेश कार्कीले पनि नेपाली मृत्युको घटना समग्र आत्महत्यासँग जोडेर हेर्नुपर्ने भन्दै शाहको पक्षमा बोलेका छन्। ‘दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन्। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसमा छलफल आवश्यक छ,’ उनले भने।

गृहमन्त्री सधन गुरुङले स्थानीय सरकारले नेपालीको मोटरसाइकलमा लक लगाएको भन्दै संघ सरकारको संलग्नता नरहेको भन्दै संसदमा बचाउ गरे। ‘अहिले काठमाडौंमा स्थानीय सरकार कसको? ह्वील लक लगाएको कसले? हामीले भनिराख्नुपर्ने अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने?,’ उनले भने।

सुधन गुरुङ

छानबिन समिति गठनको जानकारी गराएका गुरुङ रोस्टममा भावुक बनेका थिए।