BIZMANDU
www.bizmandu.com

बालेनसामु इप्पानको ४७ बुँदे मागपत्र, मन्त्री र सचिवलाई भनेर समाधान गर्ने आश्वासन

२०८३ असार २६

बालेनसामु इप्पानको ४७ बुँदे मागपत्र, मन्त्री र सचिवलाई भनेर समाधान गर्ने आश्वासन
बालेनसामु इप्पानको ४७ बुँदे मागपत्र, मन्त्री र सचिवलाई भनेर समाधान गर्ने आश्वासन


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ऊर्जा उद्यमीसँग संवाद गरेका छन्। बालेनले शुक्रबार ऊर्जा उद्यमीलाई सिंहदरबारमा बोलाएर उनीहरुका समस्याबारे करिब एक घण्टा संवाद गरेका हुन्।

Tata
GBIME
Nepal Life

छलफलका क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष मोहन डाँगीले ४७ बुँदे मागपत्र प्रस्तुत गरे।

डाँगीले जलविद्युत आयोजनाले वनको जग्गा प्रयोग गर्न नपाएको देखि विद्युतको पीपीए रोकिएको लगायत विषय प्रस्तुत गरेपछि बालेनले मन्त्री र सचिवलाई भनेर समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

‘प्रधानमन्त्रीज्यूसँगको भेटघाट एकदमै सकारात्मक भयो। हामी वनमा देखिएको समस्या, पीपीए होल्ड भएको, आरसीओडी रोकिएको लगायत समस्या राख्यौं,’ प्रधानमन्त्रीसँगको संवादमा सहभागी इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले भने, ‘उहाँले मन्त्री र सचिवलाई बोलाएर समस्या समाधान गर्छौं भन्नु भएको छ। यसले हामीलाई आशावादी बनाएको छ।’

इप्पानका अनुसार नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए होल्ड छ। यस्तै वन मन्त्रालयले ईआईए स्वीकृति र रुख कटानमा सहमति दिन ढिलासुस्ती गर्दा आयोजनाको काम प्रभावित भएको ऊर्जा उद्यमीले बताउँदै आएका छन्।

उद्यमीहरुले विभिन्न कारणले आयोजना ढिलाइ भएपछि व्यावसायिक उत्पादन मिति (आरसीओडी)को म्याद थप गर्न आग्रह गर्दै आए पनि प्राधिकरणले मानेको छैन्।

छलफलमा प्रधानमन्त्रीले प्रमुख सल्लाहकार कुमार बेन र सचिवालयका केही सदस्यलाई राखेका थिए। इप्पानका तर्फबाट अध्यक्ष डाँगी र निवर्तमान अध्यक्ष कार्कीका अलावा वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा, उपाध्यक्ष हिम पाठक, सुसन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ तथा महासचिव टीएन आचार्य संवादमा सहभागी थिए।