BIZMANDU
www.bizmandu.com

सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्काका लागि प्रस्ताव पेस गर्न थपियो १५ दिन

२०८३ असार २६

सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्काका लागि प्रस्ताव पेस गर्न थपियो १५ दिन
सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्काका लागि प्रस्ताव पेस गर्न थपियो १५ दिन


काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा ठेक्काका लागि आवेदन पेस गर्ने म्याद १५ दिन थपिएको छ।

Tata
GBIME
Nepal Life

आयोजनाले दोस्रो चरणको निर्माण कार्य अघि बढाउन जेठ १५ गेत नयाँ बोलपत्र (ग्लोबल टेण्डर)आह्वान गरेकामा प्रस्ताव पेस गर्ने म्याद साउन ७ गतेसम्म थपेको आयोजनाका सूचना अधिकारी अशोकराज गौतमले जानकारी दिए।

‘हामीले सिभिल र हाइड्रोको टेण्डर गरेका थियौं। केही कम्पनीबाट म्याद थप्न आग्रह आयो। त्यसैले साउन ७ गतेसम्म पुर्‍याइएको हो,’ उनले भने। आयोजनाले यसअघि प्रस्ताव पेस गर्न असार २४ गतेसम्मको समय दिएको थियो।

आयोजनाले पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएको साढे ६ महिनापछि नयाँ बोलपत्र आह्वान गरेको हो। सम्झौता अवधिको ६१ प्रतिशत समयमा पटेल-रमण जेभीले जम्मा १० प्रतिशत मात्र काम गरेपछि गत मंसिर दोस्रो साता ठेक्का सम्झौता अन्त्य गरिएको थियो।

आयोजनामा पहिलो चरणको ठेक्का अन्तर्गत सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ। आयोजनाले पटेल-रमण जेभीको बैंक जमानत समेत जफत गरेर सिभिल हाइड्रोमेकानिकल कम्पोनेन्ट र सोसँग सम्बन्धित मुख्य संरचना (बाँध र विद्युतगृह) निर्माणका लागि नयाँ ठेक्का आह्वान गरेको हो।