काठमाडौं। विद्युत आपूर्तिमा समस्या बढेपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत प्राधिकरणका प्रदेश प्रमुखहरुसँग भर्चुअलरुपमा छलफल गरेका छन्।
देशैभर विद्युत झ्याप झ्याप जाने समस्या बढेपछि त्यसलाई समाधान गरी वितरण प्रणाली चुस्त बनाउने सम्बन्धमा मन्त्री श्रेष्ठले बिहीबार राति प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अधिकारीलाई सँगै राखेर प्रदेश प्रमुखहरुसँग छलफल गरेका हुन्।
मन्त्री श्रेष्ठले पछिल्ला दिनमा देशका विभिन्न भागमा विद्युत आपूर्तिमा भइरहेको समस्याको कारण र समाधानको उपायबारे जानकारी लिँदै ग्राहक सेवालाई प्राथमिकतामा राखेर वितरण प्रणालीमा सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
श्रेष्ठले प्राधिकरणको आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेको भन्दै प्रणाली सुधारका निम्ति आवश्यक रकम माग गर्न र कार्यान्वयनको ढाँचा पेस गर्न भनेका छन्। उनले कानुनले व्यवस्था गरे अनुसार उपकरणहरु मौज्दात राख्न पनि निर्देशन दिएका छन्।
उनले ट्रान्सफर्मरलगायत उपकरणको गुणस्तरका विषयमा धेरैतिरबाट प्रश्न उठेको विषयलाई मन्त्रालयले सूक्ष्मरुपमा अध्ययन गरिरहेको बताए।