BIZMANDU
www.bizmandu.com

सडकमा जसको ‘फिगर’ले तान्छ सबैको नजर – ओरा ५, पर्फर्मेन्समा छैन गुनासो गर्ने ठाउँ!

२०८३ असार २६

सडकमा जसको ‘फिगर’ले तान्छ सबैको नजर – ओरा ५, पर्फर्मेन्समा छैन गुनासो गर्ने ठाउँ!
सडकमा जसको ‘फिगर’ले तान्छ सबैको नजर – ओरा ५, पर्फर्मेन्समा छैन गुनासो गर्ने ठाउँ!


कार्स एनिमेसनमा आधारित हलिउडको चर्चित फिल्म। रेसिङ ट्र्याकको संघर्षपूर्ण कथा हाल्ने कार्समा प्रोटागोनिस्ट हो म्याकविन। कारको मानवीकरण निक्कै रोचक अनुभूति हुन्छ फिल्ममा। लाइटिनिङ म्याकविन फिल्मको केन्द्रीय पात्र। फिल्मको त्यही हटसट रेसर झैं लाग्छ – ओरा फाइभ।

Tata
GBIME
Nepal Life

ग्रेटवाल मोटर्सको पछिल्लो उत्पादन ओरा फाइभ यतिखेर फिल्म कार्सको झैं धेरैको ध्यान खिच्न सफल छ। आकर्षक लुक्सको धनी कार यसपालाको टेस्ट ड्राइभमा हामी लैजाँदैछौ। आउनुस् यस एसयूभीसँगको यात्रामा।

ओरा ५ सडकमा अरूभन्दा अलग लाग्छ। यसको ‘फिगर’ले नजर तानिहाल्छ। ह्याचब्याकमा आएको ओरा थ्रीभन्दा निक्कै उम्दा लाग्छ यो कार।

क्लासिक र फ्युचरिस्टिक डिजाइनको फ्युजन हो यो एसयूभी। कारभित्र छिर्नासाथ जो कसैलाई प्रिमियम अनुभूति गराउने खुवी छ यसमा। इन्टेरियरमा सफ्ट मटेरियलको प्रयोगले यो कारलाई अरूभन्दा अलग देखाउँछ।

धेरैखाले सुविधा ओभरलोड हिसाबले भरिभराउ छ ओरा फाइभमा। नेपाली बजारमा लन्च भएको केही दिनमै हामी यो गाडीलाई टेस्ट गर्दैछौं।

कम्पनीले २०० एमएम ग्राउन्ड क्लियरेन्स दाबी गरेको देखेपछि स्वभाविक रूपमा यसलाई अनरोड र अफरोड दुवैमा कुदाउने रणनीति हामीले लियौं। हाम्रो टेस्टड्राइभ यात्रा थापाथलीबाट सुरु भयो र यहीँ पुगेर टुंगियो पनि।

सुरुवात र आखिरी गन्तव्य दुवैको बीचमा हामीले कुदायौं, शहरी र ग्रामिण सडकमा। उकालो र ओरालोमा। घुम्ती र फराकिला सडकमा पनि। गाडि मर्मतको इतिहास केलाउने हो भने ग्रेटवाल मोटर्सको विगत लामो छ। तर बिजुली गाडीको उत्पादनमा भने दुई दशकभन्दा कम अनुभव छ कम्पनीसँग।

नेपालका सडकमा अहिले इभीको उपस्थिति निक्कै बलियो लाछ। के ओरा फाइभ तिनै बलियो उपस्थितिभित्रको एउटा थप प्रोडक्ट मात्र हो त?

हाम्रो छोटो परीक्षणमा खरो रुपमा उत्रियो यो कार। क्रस कन्ट्री वा सामान्यखाले अफरोडमा यस कारलाई चुस्त हिसाबले चलाउन सकियो। अनि घुम्ती र उकालोमा नि? नर्मल मोडमा नै गाडीले उचाई लिँदा न कुनै झन्झट न कुनै तनाव।

हामीले टेस्ट ड्राइभ गरिरहेको यो कारमा ५८.३ किलोवाट आवर ब्याट्री रहेछ। हामीले सबैभन्दा हाइ इन्ड गाडीको परीक्षा गरिरहेका छौं। त्यसैले यसमा अधिक फिचर र लग्जरी महसुस हुन्छ।

हाम्रा यात्रा थापाथलीबाट सुरु भएर कलंकी हुँदै कालुपाँडेको समाधीस्थलतिर उकालियो। पूरै मोड र चर्को उकालोमा गाडीको पर्फर्मेन्समा कतै पनि गुनासो गर्ने ठाउँ देखिएन।

तर, आफूले चाहेअनुसार ब्रेकको पर्फर्मेन्स नपुगेको हाम्रो बुझाइ रह्यो। ब्रेकप्याड दबाउनासाथ हतपत रोकिनुको साटो सुस्त हुँदै अडिँदो रहेछ गाडी। एक सय किलोवाट मोटर क्षमता नेपालका सबैजसो सडक र ट्र्याकहरूमा ‘वेल एक्स्पेरिमेन्ट’ भइसकेको विषय हो। त्यसैले यसको मोटर क्षमतामा प्रश्न गर्नुपर्ने ठाउँ छैन।

गजबको ग्राउन्ड क्लियरेन्स भए पनि गाडी अग्लो फिल हुँदैन। ग्रेटवाला मोटर्सले यसलाई कम मूल्यमा प्रिमियम प्रडक्टका रुपमा उतारेको छ। इन्टेरियरमा सफ्ट मटेरियलको प्रयोग छ भने भरपूर फ्युचरिस्टिक अप्रोचलाई डिजाइनले समेटेको छ।

इन्स्ट्रुमिन क्लस्टरमा सडकका संकेतसँगै अगाडि र नजिकै रहेका सवारी, मानिसहरूको संकेत देखिन्छ। एडास टू फिचरले गाडीलाई थप सुरक्षित बनाएको छ। चिनियाँ इभीमा सेन्सरको यति धेरै प्रयोग हुन थालेको छ कि त्यसले गाडी कम कम्प्युटर ज्यादा महसुस गराउँछ।

हामीले उकालोमा गाडीको परीक्षण गर्‍यौं। घुम्ती र उकालो एकैठाउँमा हुँदा पनि नर्मल मोडमा नै गजबको पर्फर्मेन्स पायौं। स्मुद कुदाइ विशेषता नै रहेछ यसको। त्यसमाथि एकपटक पूरा चार्ज हुँदा ४ सयभन्दा माथिको दुरी तय गर्न सकिने।

यसमा सर्ट ब्लेड ब्याट्री इन्टिग्रेटेड छ। ग्राउन्ड क्लियरेन्स र माइलेज दुवैका आधारमा यो गाडी नेपाली सडकका लागि गजबकै बन्न पुगेको छ। लामो दुरी तय गर्न चाहनेका लागि बलियो विकल्पका रुपमा ग्रेटवाला मोटर्सको प्रडक्ट तयार छ।   

पानारामिक ग्लास रुफले यसलाई प्रिमयम लुक्स दिन्छ भने वान टच विन्डोले माथिल्लो दर्जामा पुर्‍याएको छ गाडीलाई। चारवटा मोडमा यसलाई कुदाउन सकिन्छ आफ्नो आवश्यकता अनुसार। स्टेरिङ पनि तीन मोडमा छ यसको।

इभी प्लेटफर्ममा तयार भएकाले यसको पर्फर्मेन्स स्वभाविक लाग्छ। ७ वटा एयरव्याग छ यसमा। पार्किङका लागि पछाडि मात्र ४ वटा सेन्सर छ जसले चालकलाई सुरक्षाको प्रत्याभूति गराउँछ।

हामीले कालुपाँडे समाधीस्थाल भन्दा केही तलसम्म पुर्‍याएर पुन: थापाथलीसम्मको यात्रा गर्‍यौं। हाम्रो टेस्ट ड्राइभले गाडीलाई अब्बल ठम्याएको छ। यो गाडीमा उच्च ब्याट्री क्षमता छ। यसले भ्यालु एड गर्ने नै भयो।

आकर्षक लुक्स र अरूभन्दा फरक गाडीको सौखिनका लागि यो राम्रो विकल्प बनेको छ। यसको मूल्य ५२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यसको ब्याट्री क्षमता र अन्य फिचर तुलना गर्ने हो भने ६० लाखभन्दा माथिको इभीसँग तुलना योग्य लाग्छ। त्यसमाथि ड्राइभिङ एक्स्पेरियन्स निक्कै सुखद् रह्यो हाम्रो। त्यसले बिजमाण्डूको तर्फबाट ओरा फाइभलाई ग्रिन सिग्नल।