काठमाडौं । सांग्रिला ग्रुपले सन् २०२६ भित्रै पोखरामा दुई वटा लक्जरी रिसोर्ट र होटेल संचालनमा ल्याउने तयारी गरेको छ। सांग्रिला होटल्सले बेलायतको अन्तर्राष्ट्रिय होटेल व्यवस्थापन समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) सँगको सहकार्यमा यो रिसोर्ट र होटल संचालन गर्नेछ।
सांग्रिला ग्रुपअन्तर्गत बेगनास ताल नजिकै इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक्जरी रिसोर्ट र घारीपाटनमा होटल इण्डिगो पोखरा निर्माण भइरहेको छ। यसका साथै ग्रुपअन्तर्गत चितवनमा इन्टरकन्टिनेन्टल चितवन मेघौली रिसोर्ट पनि बनिरहेको छ।
ग्रुपका प्रबन्ध निर्देशक प्रवीण बहादुर पाण्डेले पोखरामा निर्माण भइरहेको रिसोर्ट सन् २०२६ को सेप्टेम्बरसम्म संचालनमा आउने बताए। हाल यो रिसोर्टको निर्माण कार्य ७० प्रतिशतसम्म सम्पन्न भइसकेको छ।
सांग्रिला ग्रुपले पोखराको बेगनास तालको प्राकृतिक सौन्दर्यलाई विश्व बजारमा प्रवर्धन गर्ने उद्देश्यले ‘अल सुइट’ लक्जरी रिसोर्ट निर्माण गरिरहेको पाण्डे बताउँछन्।
‘यो रिसोर्ट नेपालमै पहिलोपटक फरक अवधारणा ले निर्माण गरिरहेका छौं। यो लक्जरी रिसोर्टमा सामान्य कोठाहरु हुने छैनन्। यहाँ सबै सुइट रुम मात्र हुनेछ,’ उनले भने।

रिसोर्टको कुल क्षमता ८० कोठाको हुनेछ र पहिलो चरणमा ४० वटा सुइट रुमहरु संचालनमा आउनेछ। दोस्रो चरणमा थप ४० कोठा थपिनेछ। अगस्ट महिनामा सफ्ट ओपनिङ र मार्केटिङ सुरु गरेर सेप्टेम्बरदेखि रिसोट पूर्ण संचालनमा ल्याउने लक्ष्य लिइएको छ। त्यसका लागि कर्मचारी भर्नादेखि अन्य व्यवस्थापकीय कार्यहरु भइरहेको छ।
पाण्डेले हाल पोखराको पर्यटन गतिविधि अधिकांश फेवाताल वरिपरि केन्द्रीत रहेको भन्दै आफ्नो रिसोर्टले बेगनास ताल क्षेत्रमा पनि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विस्तार व्यक्त गरे।
ग्रुपले पोखरामै अर्को लक्जरी होटेल पनि बनाइरहेको छ। पोखराको घारीपाटनमा रहेको सांग्रिला भिलेज रिसोर्टलाई ग्रुपले अन्तर्राष्ट्रिय ब्रान्ड आईएचजीको ‘होटल इन्डिगो’ मा रुपान्तरण गरिरहेको पाण्डे बताउँछन्। यो होटलमा भने १०० वटा रुम हुनेछ यहाँका सुविधाहरु पाँचतारे स्तरको भन्दा राम्रो हुने उनको दाबी छ।
घारीपाटनको यो होटेल निर्माणको काम पनि ७० प्रतिशत सकिएको छ। केही भौतिक पूर्वाधारहरु निर्माण चरणमा नै रहेको र तिनको काम यसै महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
उनले भने, ‘यो होटेल पनि यस वर्षभित्रै संचालनमा ल्याउने योजना छ’ उनले भने ।

मेघौलीमा पर्यावरण मैत्री लक्जरी रिसोर्ट
संग्रिला ग्रुपले चितवनमा निर्माण गरिरहेको लक्जरी रिसोर्ट भने सन् २०२७ को मार्चसम्ममा संचालनमा ल्याउने लक्ष्य लिइएको छ। पर्यावरण मैत्री हुने भनिएको यो रिसोर्टको डिजाइन वन्यजन्तु र पारिस्थितिक प्रणालीलाई बाधा नपुग्ने गरि बनाइएको प्रबन्ध निर्देशक प्रवीण बहादुर पाण्डेले बताए।
मेघौलीमा रहेको यो ‘लक्जरी रिसोर्ट’ ८० कोठा क्षमताको हुनेछ। पहिलो चरणमा भने ४० कोठा संचालनमा ल्याउने तयारी रहेको छ।
काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरी क्षेत्रमा ग्रुपले नयाँ अवधारणमा नयाँ संरचना पनि निर्माण गरिरहेको छ।
‘यहाँ अन्तर्राष्ट्रिय स्तरको २०० कोठा क्षमताको पाँचतारे स्तरको इन्टरकन्टिनेन्ट होटल बन्नेछ,’ उनले भने।
पाण्डेका अनुसार पोखरा र चितवनको परियोजना सम्पन्न गरेर मात्रै काठमाडौंको होटल संचालनमा ल्याउने रणनीतिक योजना ग्रुपको छ।
पोखरा र चितवनको रिसोर्ट र होटल सन् २०२५ मा नै संचालनमा ल्याउने तयारी रहेको थियो। जसका लागि कर्मचारीहरुका लागि आवेदन समेत आह्वान गरिएको थियो। तर, विविध प्राविधिक समस्या र दक्ष कामदारको अभावका कारण तय मितिमा नै होटल र रिसोर्ट संचालनमा ल्याउन नसकिएको पाण्डे बताउँछन्।
उनले भने,’अब आगामी दुई महिनाभित्रै पहिलो वैदेशिक ब्रान्डको रिसोर्ट उद्घाटन गर्ने गरि अन्तिम तयारी भइरहेको छ। तोकिएकै समयमा अरु रिसोर्ट र होटेल संचालनमा ल्याउने लक्ष्य छ। ‘