काठमाडौं। पाँच तारे होटल सोल्टीले एउटै सुइट एक रातको ५ लाख ३२ हजार रुपैयाँमा बिक्री गरेको छ। होटलले प्रेसिडेन्सियल सुइट एक रातको ३५०० अमेरिकी डलर अर्थात ५ लाख ३२ हजार रुपैयाँमा बिक्री गरेको हो।
प्रेसिडेन्सियल सुइट सोल्टीकै सबैभन्दा विलासी र उच्चस्तरीय आवास हो। विशेष गरी राष्ट्रप्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, अन्तर्राष्ट्रिय विशिष्ट अतिथि, व्यावसायिक नेतृत्व तथा सेलिब्रेटीलाई लक्षित गरी तयार गरिएको सुइट करिब २६६ वर्गमिटर क्षेत्रफलको छ।

होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले गत वर्ष रिनोभेट गरिएको सुइटको मूल्य प्रति रात ३५०० डलर रहेकामा बिक्री भएको जानकारी दिए। ‘हामीले खासगरी राष्ट्रप्रमुख, अन्तर्राष्ट्रिय विशिष्ट अतिथि, व्यावसायिक नेतृत्व तथा सेलिब्रेटीलाई लक्षित गरी तयार गरिएको सुइट एक रातको ३५०० डलरका दरले बिक्री भएको छ,’ उनले भने।
यो सुइटमा एउटा ठूलो मास्टर बेडरुम तथा ५ जनासम्म बस्न मिल्ने व्यवस्था छ। सुइटमा तीनवटा आधुनिक बाथरुम तथा अतिथि स्वागत वा आरामका लागि छुट्टै भव्य लिभिङ रुम छ।

सुइटमा निजी भेटघाट वा भोजनका लागि डाइनिङ क्षेत्र र होटलको बगैंचा तथा वरपरको दृश्य अवलोकन गर्न मिल्ने निजी बाल्कोनी पनि छ। उच्चगतिको वाईफाई, स्मार्ट टिभी, मिनीबार, कफी/चिया मेकर, सेफ्टी लकर, विलासी बाथरोब तथा अन्य प्रिमियम सुविधा यो सुइटमा उपलब्ध छन्।

सरकारले गर्ने ठूला सम्मेलन तथा राष्ट्रपति र प्रधानमन्त्रीको निम्तामा आउने विदेशी सरकार प्रमुख लगायतका भीआइपीहरु सोल्टीमा नै बस्दै आएका छन्।

२०७६ असोजमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ सोल्टीमै बसेका थिए। त्यतिखेर चिनफिङको टोलीका सदस्यका लागि सोल्टीका सबै कोठा खाली गराइएको थियो।