काठमाडौं। अध्यादेश प्रतिस्थापनका लागि ल्याइएका चार वटा विधेयक राष्ट्रिय सभाले सर्वसम्मतरुपमा पारित गरेको छ।
राष्ट्रिय सभाले विधायन समितिमा दफाबार छलफलपछि बिहीबारको बैठकबाट चार वटै विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो।
बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २३ गते समितिमा पठाएको थियो।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले छोटो समयभित्रै समितिमा दफाबार छलफल गरेर राष्ट्रिय सभाबाट विधेयक सर्वसम्मतरुपमा पारित हुनु गर्वको विषय भएको बताए। उनले आगामी दिनमा पनि यसैगरी सक्रियता प्रदर्शन गर्न सांसदहरुलाई आग्रह गरे।
अध्यादेश प्रतिस्थापन विधेयक संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्का दुवै सदनबाट पारित भइ प्रमाणीकरण नभएको अवस्थामा निष्कृय हुने भएका कारण राष्ट्रिय सभाले हतार हतार पारित गरेको हो।
सरकारले गत वैशाख तेस्रो साता सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण लगायत ८ वटा अध्यादेश ल्याएकामा ४ वटा प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधि सभाले असार १८ गते पारित गरेको थियो।
अध्यादेश जारी भएको एक सातापछि अर्थात वैशाख २८ गते संसद्को अधिवेशन सुरु भएको थियो।