BIZMANDU
www.bizmandu.com

सेयर बजार प्यानिक भएपछि सेबोनले भन्यो- पुँजी बजार विकासको मार्गचित्र ल्याउँदैछौं

२०८३ असार २५

सेयर बजार प्यानिक भएपछि सेबोनले भन्यो- पुँजी बजार विकासको मार्गचित्र ल्याउँदैछौं
सेयर बजार प्यानिक भएपछि सेबोनले भन्यो- पुँजी बजार विकासको मार्गचित्र ल्याउँदैछौं


काठमाडौं। सेयर बजार लगातार बियरिस भएपछि नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सुधारको कार्ययोजना ल्याउन लागेको बताएको छ।

Vigo
GBIME
Tata

सेबोनले बजारमा देखिएका समस्याको समाधान र लगानीकर्ताको हित संरक्षणका लागि गभ्भीर रुपमा गृहकार्य गरिरहेको बताएको हो।

सेबोनले बिहीबार विज्ञप्ति निकाल्दै आगामी साता बजारको विकास कार्ययोजनासहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने बताएको छ।

‘नेपालको धितोपत्र बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताको गुनासो प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ। बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि यस बोर्डले गम्भीर रूपमा गृहकार्य गरी आगामी साता सम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने व्यहोरा जानकारी गराउँदछौं,’ सेबोनले भनेको छ।

सेबोनले मार्जिन कारोबार कार्यान्वयनलाई प्रभावकारी बनाउने बताएको छ। धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली लगायत अन्य नियमावली तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा समसामयिक पुनरवलोकन गर्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

सेबोनले लगानीकर्तालाई हल्लाको पछि लागेर लगानी नगर्न आग्रह गर‍ेको छ। ‘लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिई बोर्डले कार्य अगाडि बढाई रहेकोले कसैको पनि हल्ला, बहकाऊ तथा अफबाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम बहन क्षमता समेतलाई ध्यान दिई सुझबुझपूर्वक लगानी सम्बन्धी निर्णय लिन अनुरोध गरिन्छ,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।