BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीले निजी क्षेत्रलाई ढाढस दिँदा पनि सेयरमा उल्टो प्रतिक्रिया, किन आश्वस्त बनेनन् लगानीकर्ता?

२०८३ असार २५

प्रधानमन्त्रीले निजी क्षेत्रलाई ढाढस दिँदा पनि सेयरमा उल्टो प्रतिक्रिया, किन आश्वस्त बनेनन् लगानीकर्ता?
प्रधानमन्त्रीले निजी क्षेत्रलाई ढाढस दिँदा पनि सेयरमा उल्टो प्रतिक्रिया, किन आश्वस्त बनेनन् लगानीकर्ता?


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले त्रसित रहेका उद्योगी व्यवसायीलाई भेटेर ढाढस दिए पनि सेयर बजारले आज उल्टो प्रतिक्रिया दिएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री शाहले सरकार सम्हालेको १०० दिन पुगेपछि ‘सेड्युल’नै बनाएर बुधबार निजी क्षेत्रका प्रतिनिधिलाई भेटेका थिए। त्यस क्रममा शाहले उद्योगीहरुलाई आश्वस्त बनाउँदा पनि आज सेयर भने ओरालो लाग्यो।

प्रधानमन्त्री शाह र उनका सचिवालयले सरकारको १०० दिनपछि उद्योगी व्यवसायीलाई भेट्ने योजना नै बनाएका थिए। त्यसमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार निरन्तर घटिरहेकाले प्रधानमन्त्री शाहलाई भेटेर आश्वस्त बनाउन सकेमा उकालो लाग्ने ब्रिफिङ गरे्का थिए।

‘बजार एकदमै घट्यो। यसमा हजुरले उद्योगी व्यवसायीलाई भेटेर आश्वस्त तुल्याउनु भएमा उकालो लाग्न सक्छ,’ स्वर्णिमले बालेनलाई ब्रिफिङ गरेका थिए।

बुधबार प्रधानमन्त्री भेट्ने उद्योगी व्यवसायी पनि उत्साहित भएर सिंहदरबारबाट फर्किएका थिए।

प्रधानमन्त्री शाहले अनौपचारिक रुपमा कुराकानी गर्दै गम्भीर अपराध बाहेकमा व्यवसायीमाथि धरपकड नहुने र ‘जेन्यून’ मुद्दा अध्यादेशमार्फत ल्याएर भए पनि कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दा व्यवसायी हौसिएका थिए।

यसले सेयर बजारमा बिहीबार सकारात्मक प्रतिक्रिया दिने अपेक्षा गरिएको थियो। तर, त्यस विपरित आज बजार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा आएको छ। यो ६ महिना अघिको विन्दु हो।

बजार यसअघि गत पुस ८ गते २५८५ अंकमा थियो। मंगलबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि ५० अंकले ओरालो लागेको छ। बैंकको ब्यादर न्यून र तरलता उच्च हुँदा समेत लगानीकर्ताको मनोबल बढ्न नसकेका बेला मौद्रिक नीतिले पनि उत्साह ल्याउन नसकेको हो। स्रोतका अनुसार प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग भेटघाट गर्न ढिला गरेकाले समस्या भएको हो।

‘यो सरकार आएपछि सेयर बजारलाई कब्जामा लिएकालाई कारबाही भएको थियो। त्यसले बजार शुद्धीकरणको प्रयास भएको थियो। तर, एकपछि अर्को उद्योगी व्यापारी पक्राउ पर्दैछन् भन्ने हल्ला फैलियो,’एक लगानीकर्ताले बिजमाण्डूसँग भने, ‘त्यो अफवाह रोक्ने भन्दा अर्थमन्त्री वाग्लेले समेत सुशासनको वर्ष हुने भनेर थप आगोमा घिउ थप्ने काम भयो। जसले गर्दा लगानीकर्ताको विश्वास उड्यो।’

उनका अनुसार प्रधानमन्त्री शाहले उद्योगीलाई भनेजस्तै व्यवहारमा सबै निकायले पालना गरेमा मात्रै निजी क्षेत्र आश्वस्त हुनेछ।

‘प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई भनेको कुरा व्यवहारमा लागू भएमा मनोबल बढ्छ। त्यसका लागि केही समय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्,’ उनले भने, ‘त्यही भएर तत्कालै सेयर बजारले सकारात्मक प्रतिक्रिया नदिएको हो।’

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले सरकारले लगानीकर्ताको कन्फिडेन्स बढाउन नसक्दाको असर बजारमा देखिएको बताए।

‘प्रधानमन्त्रीले व्यवसायीलाई बोलाएजस्तै सरकारका अरु निकायहरुले पनि लगानीकर्ताको मनोबल बढाउने काम गरे बायरहरु पनि आउँछन्। त्यसले पोजेटिभ रियाक्ट गरेपछि बजार सकारात्मक लयमा चल्छ,’ उनले भने, ‘तर, अहिले बजार बियरिस हुँदा बायरहरु पनि सेयर किन्न तयार छैनन्। बजार बढ्नका लागि सकारात्मक माहौल नै बन्न सकेको देखिँदैन।’

‘लगानीकर्ताहरु अहिले समस्यामा देखिएका छन्। कन्फिडेन्स गुमेको छ। हिजो व्यवसायीहरुले प्रधानमन्त्रीलाई भेटेपछि पनि बजारमा त्यसको पोजेटिभ रियाक्ट नदेखिनु अझै कन्फिडेन्स छैन भन्ने नै हो,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव नितेशकुमार अग्रवालले भने, ‘बजारमा केही अन्तिम त्रैमासको प्रभाव पनि देखिएको छ।’

बिहीबार बजारमा सबै उपसमूहको सूचक घटेको छ। ट्रेडिङको सबैभन्दा धेरै २.३६ प्रतिशतले ओरालो लागेको छ। बजारमा २२९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

४२ कम्पनीको सेयर मूल्य बढ‍ेको छ। उपकार लघुवित्तको सबैभन्दा धेरै १२.६८ प्रतिशत सेयर मूल्य बढेको छ। बजारमा सूचकसँगै किनबेच घटेको हो।

बुधबार ४ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकामा बिहीबार ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबारको शीर्ष सूचीका ऋणपत्रहरु छन्। ग्लोबल आइएमई बैंकको ऋणपत्र सर्वाधिक ३५ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ।

फागुन तेस्रो साताको निर्वाचनपछि उकालो लागेको सेयर बजार चैत दोस्रो साता शाह सरकार बनेसँगै लगातार घटिरहेको छ। नयाँ सरकार बनेयता नेप्से परिसूचक ३५९ अंकले घटेको छ। नेप्से परिसूचक नयाँ सरकार बन्नुअघि गत चैत १० गते २९६० अंकमा थियो।

बजार घट्दा लगानीकर्ताले तीन महिनामा करिब ५ खर्ब रुपैयाँ गुमाएका छन्। चैत दोस्रो साता बजार पुँजीकरण ५० खर्ब रुपैयाँ रहेकामा अहिले ४४ खर्ब ७० अर्ब रुपैयाँमा आएको छ।