BIZMANDU
www.bizmandu.com

पूर्वमा अघोषित लोडसेडिङले व्यवसायी हैरान, ‘बारम्बारको ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो’

२०८३ असार २५

पूर्वमा अघोषित लोडसेडिङले व्यवसायी हैरान, ‘बारम्बारको ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो’
पूर्वमा अघोषित लोडसेडिङले व्यवसायी हैरान, ‘बारम्बारको ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो’


विराटनगर । पूर्वका व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा वास्तविकता त्यस्तो नभएको बताएका छन्।

Tata
GBIME
Nepal Life

व्यवसायीले पूर्वका उद्योगले अघोषित लोडसेडिङ अहिले पनि भोगिरहेको, लो भोल्टेजको समस्या उस्तै रहेको र बारम्बार भइरहने ट्रिपिङले उद्योग संचालन गर्न गाह्रो भएको गुनासो गरिरहेका छन्।

पूर्वको एक मुख्य व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघले विज्ञप्ति प्रकाशित गर्दै विद्युत् आपूर्तिमा भएको अनियमितताप्रति असन्तुष्टि प्रकट गरेको हो।

संघका अध्यक्ष अनुपम राठीले भनेका छन्, ‘प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगहरूले दैनिक घण्टौंसम्म अनिश्चितताको सामना गर्नु परिरहेको छ। यस अनिर्धारित प्राविधिक गडबडी र लापरबाहीले उद्योगहरू चौतर्फी मारमा परिरहेको अवस्था छ।’

राठीले कुनै पूर्वसूचना बिना नै दैनिक रूपमा भइरहेको पटक पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको र यिनले ठुलो संकटको सामना गरिरहेको उल्लेख गरे। राठीका अनुसार पटक पटक आउने र जाने विद्युत् ट्रिपिङका कारण उद्योगमा जडान गरिएका करोडौँ मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जा, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणालीहरू बिग्रने क्रम अत्यधिक बढेको छ। जसका कारण उद्योगीमाथि मर्मतसम्भारको ठुलो र अनपेक्षित आर्थिक भार थपिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उद्योगमा विद्युतको ट्रिपिङ अनिश्चित छ तर बारम्बार भइरहन्छ। त्यस्तै, अघोषित लोडसेडिङ पनि छ। यसले गर्दा विशेषगरी प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगमा प्रक्रियागत उत्पादनका क्रममा अचानक विद्युत् काटिँदा मेसिनभित्रै कच्चा पदार्थहरू जमेर नष्ट हुने, डढ्ने र करोडौँको उत्पादन पूर्ण रूपमा खेर जाने गरेको छ।’

विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत हजारौं श्रमिक घण्टौंसम्म कामविहीन भएर बस्नुपर्ने बाध्यता भएको र उद्योगहरूले काम नभए कामदारको पारिश्रमिक भुक्तानी गर्नुपर्ने बाध्यता रहेको राठीको भनाइ छ।

‘पारिश्रमिक र संचालन खर्च यथावत् रहने तर विद्युत् अनियमितताका कारण पर्याप्त उत्पादन गर्न नसकिने अनि कच्चापदार्थ पनि नष्ट हुने समस्या विद्यमान छ। यस्तो अवस्थामा नेपाली उत्पादनले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पूर्ण रूपमा गुमाउँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष राठीका अनुसार विद्युत् अनियमितताले गर्दा समयमा उत्पादन हुन नसक्दा बजारमा सामानको अभाव सृजना हुने, माग अनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरूको साख गुम्ने र आयातित वस्तुहरूले बजार ओगट्ने जोखिम बढेको छ। संघले प्राधिकरणले प्राविधिक कारणले कतै विद्युत् लाइन काटनुपरे व्यावसायिक संघसंस्था र सम्बन्धित उद्योगी व्यवसायीलाई पूर्व सूचना दिनुपर्ने आग्रह गरेको छ।