काठमाडौं। प्रतिनिधि सभाको गत जेठ १७ गतेको बैठकमा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुख डीपी अर्याललाई विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव दिएको छ।
समितिले बैठकमा सांसदबाट संसदीय मर्यादा उल्लघंन भएको, नियमावली कार्यान्वयनमा कमजोरी देखिएको, संयमताको अभाव देखिएको र व्यवस्थापकीय चुनौती विद्यमान रहेको निष्कर्ष सहितको प्रतिवेदन बिहीबार सभामुख अर्याललाई बुझाएको छ।
समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्थालाई सभामुखले कठोरतापूर्वक कार्यान्वयन गर्न सुझाव दिएको छ।
समितिले सांसदहरुले पालना गर्नुपर्ने गरी प्रतिनिधि सभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमको पूर्ण परिपालना गर्ने गराउने विषयलाई स्वयं सांसद, संघीय संसद् सचिवालय र सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न सभामुख अर्यालले जेठ १८ गते जाँचबुझ समिति गठन गरेका थिए।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए।
समितिले स्थलगत मुचुल्काको अध्ययन, श्रव्यदृश्य प्रमाण संकलन, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित दस्तावेजहरूको विश्लेषण गरी प्रतिवेदन तयार पारेको हो। समितिलाई प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको थियो। समितिले प्रारम्भिक प्रतिवेदन गत जेठ २५ गते बुझाएको थियो।