BIZMANDU
www.bizmandu.com

अर्जेन्टिनासँग हारपछि फिफामा इजिप्टको उजुरी, रेफ्रीले एकतर्फी खेल खेलाएकै थिए?

२०८३ असार २४

अर्जेन्टिनासँग हारपछि फिफामा इजिप्टको उजुरी, रेफ्रीले एकतर्फी खेल खेलाएकै थिए?
इजिप्टको झण्डासँग फिफा अध्यक्ष। Photo: AFP/RSS


काठमाडौं। इजिप्टले प्रिक्वारफाइनलमा इजिप्टसँग हारपछि फिफामा उजुरी गरेको छ। गएराति सम्पन्न खेलमा ३-२ गोलले पराजित भएपछि इजिप्ट फुटबल संघले रेफ्रीले एकतर्फी निर्णय गरेको आरोप लगाउँदै फिफामा उजुरी गरेको हो।

Tata
GBIME
Nepal Life

इजिप्ट फुटबल संघले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै खेलको नतिजालाई प्रत्यक्ष असर पार्ने गरी रेफ्रीबाट शंकास्पद निर्णयहरू भएको बताएको छ। स्थानीय तथा अन्तर्राष्ट्रिय फुटबल विज्ञहरूले पनि यी निर्णयहरूमाथि प्रश्न उठाएको भन्दै फिफा विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेलको निष्पक्षता, पारदर्शिता र उच्च स्तर कायम हुनुपर्ने माग इजिप्टले गरेको छ।

इजिप्टले फिफाले विश्व च्याम्पियन अर्जेन्टिना र कप्तान लियोनेल मेस्सीलाई प्रतियोगितामा जोगाइराख्न खोजेको आरोप लगाएको छ। सामाजिक सञ्जालदेखि फुटबल विश्लेषकसम्म उसको आरोपमा सहमत हुने धेरै छन्।

गोलपछि अर्जेन्टिनी टोली। Photo: FIFA

एटलान्टामा मंगलबार भएको खेलमा इजिप्टले २-० को अग्रता बनाएको थियो। त्यसपछि भीएआरले लामो समीक्षा गर्दै इजिप्टको दोस्रो गोल रद्द गर्‍यो। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै ३-२ को जित निकाल्यो।

खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफाको नियतमाथि नै प्रश्न उठाएका थिए। उनले बीइइन स्पोर्ट्ससँग कुरा गर्दै अर्जेन्टिनालाई फाइनल पुर्‍याउन हरसम्भव प्रयास भइरहेको बताए।

‘सायद उनीहरू मेस्सी प्रतियोगितामा रहोस् भन्ने चाहन्थे,’ उनले भने।

खेलमा हार बेहोरेपछि इजिप्ट फुटबल एसोसिएसनले फिफासमक्ष रेफ्रीको निर्णयविरुद्ध औपचारिक उजुरी दर्ता गरेको हो। उनीहरूले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेतेक्सिए र उनको टोलीले गरेका गल्तीहरूका कारण आफूहरू अन्यायमा परेको र खेलको नतिजा बद्लिएको आरोप लगाएका छन्। इजिप्टले ती रेफ्रीको टोलीलाई बाँकी विश्वकपका खेलहरू प्रतिबन्ध लगाउन माग गरेको छ।

इजिप्टविरुद्ध खेलमा अन्याय भएको भन्ने पक्षमा धेरै फुटबल विज्ञहरुले बोलिरहेका छन्।

रेफ्रीले अन्याय गरेको तर्क कसकसले गरे?

इंग्ल्याण्डका पूर्व गोलकिपर रोब ग्रीनले मैदानको अर्को छेउमा भएको सामान्य फललाई लिएर त्यति टाढा पुगेर भएको गोल रद्द गर्नु भीएआरको क्षेत्राधिकार भित्र नपर्ने भन्दै आलोचना गरे। त्यस्तै पूर्व-फुटबलर तथा विश्लेषक एलन सिएरर रेफ्रीको दोहोरो मापदण्डमा प्रश्न उठाएका छन्।

‘यदि एउटा फल हो भने अर्को पनि फल हुनुपर्छ, नत्र कुनै पनि होइन,’ उनले भनेका छन्।

आर्सनलका पूर्व स्ट्राइकर इयान राइटले मोहम्मद सलाहलाई लडाइएको प्रसङ्ग निकाल्दै अर्जेन्टिनाको पालामा गोल रद्द गर्ने भीएआरले सलाहको फललाई किन वास्ता गरेन भन्दै आक्रोश पोखे।

लिभरपुलका पूर्वडिफेन्डर जेमी काराघेरले भीएआरको प्रयोगको स्तरमाथि नै प्रश्न उठाएका छन्। ‘यदि यस्तो निर्णय प्रिमियर लिग, ला लिगा वा सिरिया ए मा भएको भए, भीएआरको रिभ्यु पछि पनि त्यो गोल नै मानिन्थ्यो,’ उनले भनेका छन्।

जारी विश्वकपमा विवादको यो पहिलो घटना भने होइन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको निलम्बन हटाइएको निर्णयले पनि फिफाको निष्पक्षतामाथि प्रश्न उठेको थियो।

यही पृष्ठभूमिमा अर्जेन्टिना-इजिप्ट खेलको रेफ्रिङ झन् बढी विवादित बनेको हो।

Photo: Xinhua/Chen Yichen

त्यसैगरी, आयोजक अमेरिकाले इरानी टोलीसँग गरेको व्यवहार पनि विवादमा रह्यो। इरानका खेलाडीलाई मेक्सिकोबाट आवतजावत गरेर खेल खेल्न बाध्य बनाइएको भन्दै टोलीले शारीरिक र मानसिक रूपमा कठिनाइ भोग्नुपरेको दाबी गर्दै आएको छ। इरानको इजिप्टसँगको खेलमा पनि रेफ्रीले आफूहरूविरुद्ध निर्णय दिएको आरोप लागेको थियो।

रेफ्रीको निर्णय सही भएको तर्क!

सांघाईस्थित इमलियन विजेन स्कुलकाका खेल व्यवस्थापन विशेषज्ञ साइमन चाडविकले पनि भीएआरको प्रयोग अस्वाभाविक देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार रेफ्रीले खेल चलिरहँदा फाउल नदेखेको अवस्थालाई भीएआरले इजिप्टले गोल गरेपछि मात्र समीक्षा गर्नु असामान्य थियो।

उनले अर्जेन्टिनाको गोलअघि पनि समान प्रकृतिको फउल भएको देखिए पनि त्यसमा भीएआर नबोलाइएको भन्दै रेफ्रिङमा एकरूपता नदेखिएको बताए।

यद्यपि, उनले खेलमा अर्जेन्टिनालाई जिताउनै खोजिएको दाबीलाई अस्वीकार गरे।

फुटबल विश्लेषक अली एल गर्नीले इजिप्ट ‘लुटिएको’ भन्नु अतिरञ्जित हुन सक्ने बताए। उनका अनुसार अधिकांश विवादित निर्णय ‘फिफ्टी-फिफ्टी’ प्रकृतिका थिए। तर, ती सबै अर्जेन्टिनाकै पक्षमा गएको देखियो।

उनले इजिप्टको रद्द गरिएको गोलअघि भएको फउल स्पष्ट देखिए पनि भीएआरले कति अघिसम्मको खेल फर्केर हेर्न मिल्ने भन्ने प्रश्न उठाए। अर्जेन्टिनाको तेस्रो गोलअघि मोहम्मद सलाहमाथि सम्भावित फउल हुँदा पनि भीएआर मौन बसेको उनले उल्लेख गरे।

यस घटनापछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। फुटबल समर्थक र विश्लेषकहरूले भीएआरको प्रयोग, रेफ्रीको निर्णय र फिफाको पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्।

Photo: Xinhua/Chen Yichen

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पोर्चुगिज प्रशिक्षक जोजे मोरिन्होले समेत उक्त खेललाई ‘दिनदहाडै भएको लुट’को संज्ञा दिएका छन्।

यससँगै विश्वकप २०२६ मा रेफ्रिङको स्तर, भीआएर को प्रयोग र फिफाको पारदर्शितामाथि नयाँ बहस सुरु भएको छ।

पूर्व रेफ्रीको दाबी : सही थियो रेफ्रीको निर्णय

अर्जेन्टिनाविरुद्धको विश्वकप अन्तिम १६ को खेलमा इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको निर्णयलाई लिएर चर्किएको विवादबीच पूर्व प्रिमियर लिग रेफ्री एन्डी डेभिसले उक्त निर्णय नियमअनुसार सही भएको दाबी गरेका छन्।

ईएसपीएनका भीएआर विश्लेषक डेभिसका अनुसार इजिप्टका डिफेन्डर मारवान आतियाले गोल बन्नुअघि अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजको जर्सी तान्नुका साथै खुट्टामाथि टेकेका थिए। यही फउलका कारण अर्जेन्टिनाको आक्रमण रोकिएको र त्यसैबाट इजिप्टले काउन्टर आक्रमण गर्दै गोल गरेकाले भीएआरको हस्तक्षेप उचित भएको उनको निष्कर्ष छ।

६२औँ मिनेटमा मोस्तफा जिकोले गोल गरेपछि भीएआर रेफ्री जेरोम ब्रिसार्डले फिल्ड रेफ्री फ्रान्स्वा लेटेक्सियरलाई अन-फिल्ड रिभ्यु गर्न सिफारिस गरेका थिए। भिडियो हेरेपछि रेफ्रीले गोलअघि फउल भएको ठहर गर्दै गोल रद्द गरेका थिए।

डेभिसका अनुसार एउटै आक्रमणको क्रममा भएको स्पष्ट फउलबाट गोल बनेको अवस्थामा त्यसलाई अमान्य घोषित गर्नु फुटबल नियमअनुसार सही निर्णय हो।

‘आतियाले जर्सी समातेका थिए र एकै समयमा मार्टिनेजको खुट्टामाथि पनि टेकेका थिए। भिडियो हेरेपछि रेफ्रीसँग गोललाई मान्यता दिने कुनै आधार थिएन,’ उनले भने।

यद्यपि, घटना मैदानको माथिल्लो भागमा भएको र गोल हुनुअघि केही समय बितेकाले समर्थकमाझ बहस हुनु स्वाभाविक रहेको उनले स्वीकार गरेका छन्।

खेलको अन्त्यतिर इजिप्टले दुई पटक पेनाल्टीको माग गरेको थियो। पहिलो घटनामा एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीको जर्सी तानेको दाबी गरिएको थियो।

अर्को घटनामा मोहम्मद सलाहले जुलियन अल्भारेजले आफूलाई लडाएको भन्दै पेनाल्टी मागेका थिए। तर, भीएआरले दुवै घटनामा मैदानको निर्णयलाई नै सही ठहर गरेको थियो।

डेभिसका अनुसार म्याक एलिस्टरको जर्सी समात्ने घटना सामान्य प्रकृतिको थियो। त्यसलाई पेनाल्टी दिनुपर्ने स्तरको फाउल मान्न नसकिने उनले बताए।

त्यस्तै, सलाहको घटनामा पनि अल्भारेजले फउल नगरेको र दुवै खेलाडीको खुट्टा ठोक्किँदा सलाह आफैं लडेका कारण पेनाल्टी नदिनु उचित निर्णय भएको उनको निष्कर्ष छ।

तर, इजिप्टले खेलपछि रेफ्री र भीएआरले दोहोरो मापदण्ड अपनाएको आरोप दोहोर्‍याएको छ। प्रशिक्षक होसाम हसनले फिफाले अर्जेन्टिनालाई प्रतियोगितामा जोगाउन खोजेकोसम्म आरोप लगाएपछि विश्वकप २०२६ मा रेफ्रिङ, भीएआरको प्रयोग र फिफाको निष्पक्षतामाथि नयाँ बहस चर्किएको छ।