BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिबाट निजी क्षेत्र खुशी, एफएनसीसीआईले भन्यो- मनोबल बढाउने कार्यक्रम आए

२०८३ असार २४

मौद्रिक नीतिबाट निजी क्षेत्र खुशी, एफएनसीसीआईले भन्यो- मनोबल बढाउने कार्यक्रम आए
मौद्रिक नीतिबाट निजी क्षेत्र खुशी, एफएनसीसीआईले भन्यो- मनोबल बढाउने कार्यक्रम आए


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने बताएको छ।

Tata
GBIME
Nepal Life

एफएनसीसीआईले बुधबार प्रेस विज्ञप्तिमार्फत मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको बताएको हो।

सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात् गरेकोमा एफएनसीसीआईले स्वागत गरेको छ।

एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लचिलो कार्यदिशा अवलम्बन गरेको बताए।

‘हामीले लामो समयदेखि उठाउँदै आएका विभिन्न विषयलाई मौद्रिक नीतिमा सम्बोधन गर्ने प्रयास गरिएको छ,’ अन्जनलाई उद्यृत गर्दै एफएनसीसीआईले भनेको छ, ‘व्यक्तिगत जमानीका आधारमा सिर्जना हुने असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने व्यवस्था, रुग्ण उद्योगमा रहेको निस्कृय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने उपाय सकारात्मक छन्। त्यस्तै, संस्थागत सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण र सार्वजनिक रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनका लागि कर्जा-धितो अनुपात बढाउने व्यवस्था सकारात्मक छ।’

नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयले नीतिगत स्थिरता कायम गर्ने एफएनसीसीआईको बुझाइ छ। यसले लगानीकर्तामा विश्वास बढाउने र व्यवसायिक वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाको डिजिटलाइजेसन, वित्तीय लागत न्यूनीकरण, सेवाको गुणस्तर सुधार र नियामकीय व्यवस्थालाई थप सरल र प्रभावकारी बनाउने नीतिको स्वागत गरिएकोको छ। विदेशी विनिमयसम्बन्धी व्यवस्थालाई सहज बनाउने घोषणाले व्यापार, लगानी र वैदेशिक कारोबारलाई सहज बनाउन सहयोग पुग्ने एफएनसीसीआईको विश्वास छ।

एफएनसीसीआईले ११ प्रतिशतले कर्जा बढाउने लक्ष्य प्राप्त गर्न उद्योग, कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, पूर्वाधार, निर्यातमुखी उद्योग तथा साना एवं मझौला उद्यमसम्म सहज र सहुलियतपूर्ण रूपमा ऋण प्रवाह गरिनुपर्ने बताएको छ। ‘वास्तविक उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार नभएसम्म आर्थिक पुनरुत्थानले गति लिन सक्दैन,’ एफएनसीसीआईले भनेको छ।

मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय भए मात्र अपेक्षित आर्थिक रूपान्तरण सम्भव हुने एफएनसीसीआईले विज्ञप्तिमा उल्लेख गरेको छ।

एफएनसीसीआईले विभिन्न क्षेत्रगत कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरणको विषयलाई निर्देशिकामार्फत सम्बोधन गर्न आग्रह गरेको छ।