काठमाडौं। फिफा विश्वकप २०२६ का खेल अघि बढ्दै जाँदा रेफ्री र भीएआरका निर्णयले निकै चर्चा पाएका छन्। अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएपछि रेफ्री र भीएआरका निर्णयलाई लिएर विश्व फुटबल दुई ध्रुवमा बाँडिएको छ।
इजिप्टले फिफाले विश्व च्याम्पियन अर्जेन्टिना र कप्तान लियोनेल मेस्सीलाई प्रतियोगितामा जोगाइराख्न खोजेको आरोप लगाएको छ। सामाजिक सञ्जालदेखि फुटबल विश्लेषकसम्म उसको आरोपमा सहमत हुने धेरै छन्।
एटलान्टामा मंगलबार भएको खेलमा इजिप्टले २-० को अग्रता बनाएको थियो। त्यसपछि भीएआरले लामो समीक्षा गर्दै इजिप्टको दोस्रो गोल रद्द गर्यो। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै ३-२ को जित निकाल्यो।
खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफाको नियतमाथि नै प्रश्न उठाए। उनले बीइइन स्पोर्ट्ससँग कुरा गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याउन हरसम्भव प्रयास भइरहेको बताए।
‘सायद उनीहरू मेस्सी प्रतियोगितामा रहोस् भन्ने चाहन्थे,’ उनले भने।
साविक विश्व च्याम्पियन टोलीले सबै तहबाट सहयोग पाएको उनले आरोप लगाए।
‘फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका तत्वहरूले पनि प्रभाव पार्छन्। विश्व च्याम्पियन टोलीलाई सबै स्तरबाट समर्थन मिलेको देखियो,’ हसनले भने।
उनले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सियरको नियुक्तिप्रति सुरुदेखि नै असन्तुष्टि रहेको बताए। उनका अनुसार इजिप्ट दुई निर्णयबाट सबैभन्दा बढी असन्तुष्ट थियो।
पहिलो, मोस्तफा जिकोको गोल फउल देखाउँदै रद्द गरिनु। दोस्रो, अर्जेन्टिनाको निर्णायक गोलअघि एलेक्सिस म्याक एलिस्टरले इजिप्टका खेलाडीको जर्सी तानेको दाबीमा भीएआरले समीक्षा नगर्नु।
हसनले मोहम्मद सलाहमाथि भएको भनिएको फउलमा पनि पेनाल्टी नदिइएको भन्दै आक्रोश व्यक्त गरे।
‘हामीले सम्मान र निष्पक्षता देखेनौं। स्पष्ट पेनाल्टी थियो तर भीएआरले जाँचसमेत गरेन। हाम्रो दोस्रो गोल पनि कुनै कारण देखाएर रद्द गरियो,’ उनले भने।
निर्णायक गोलअघि भएको घटनाबारे उनले थपे, ‘सबैले जर्सी तानिएको देखे, तर भीएआरले हेर्न पनि आवश्यक ठानेन। हामीमाथि अन्याय भयो।’

प्रशिक्षकको आरोपलाई खेलाडीहरूले पनि समर्थन गरेका छन्। फरवार्ड मोस्तफा जिकोले खेल आफ्नो नियन्त्रणमा रहे पनि त्यसपछि रेफ्रीका निर्णयले खेलको दिशा बदलिएको बताए।
‘खेल हाम्रो नियन्त्रणमा थियो। तर, त्यसपछि मैदानमा अनौठा घटनाहरू भए। रेफ्रीका निर्णयले हामीलाई ठूलो क्षति पुर्यायो,’ उनले भने।
जारी विश्वकपमा विवादको यो पहिलो घटना भने होइन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको निलम्बन हटाइएको निर्णयले पनि फिफाको निष्पक्षतामाथि प्रश्न उठेको थियो।
यही पृष्ठभूमिमा अर्जेन्टिना-इजिप्ट खेलको रेफ्रिङ झन् बढी विवादित बनेको हो।
त्यसैगरी, आयोजक अमेरिकाले इरानी टोलीसँग गरेको व्यवहार पनि विवादमा रह्यो। इरानका खेलाडीलाई मेक्सिकोबाट आवतजावत गरेर खेल खेल्न बाध्य बनाइएको भन्दै टोलीले शारीरिक र मानसिक रूपमा कठिनाइ भोग्नुपरेको दाबी गर्दै आएको छ। इरानको इजिप्टसँगको खेलमा पनि रेफ्रीले आफूहरूविरुद्ध निर्णय दिएको आरोप लागेको थियो।
सांघाईस्थित इमलियन विजेन स्कुलकाका खेल व्यवस्थापन विशेषज्ञ साइमन चाडविकले पनि भीएआरको प्रयोग अस्वाभाविक देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार रेफ्रीले खेल चलिरहँदा फाउल नदेखेको अवस्थालाई भीएआरले इजिप्टले गोल गरेपछि मात्र समीक्षा गर्नु असामान्य थियो।
उनले अर्जेन्टिनाको गोलअघि पनि समान प्रकृतिको फउल भएको देखिए पनि त्यसमा भीएआर नबोलाइएको भन्दै रेफ्रिङमा एकरूपता नदेखिएको बताए।
यद्यपि, उनले खेलमा मिलेमतो भएको दाबीलाई समर्थन भने गरेनन्। उनका अनुसार मेस्सी विश्व फुटबलका सबैभन्दा ठूला आकर्षण भएकाले उनी प्रतियोगितामा रहँदा विश्वकपलाई व्यावसायिक रूपमा फाइदा पुग्ने तथ्य भने अस्वीकार गर्न सकिँदैन।
फुटबल विश्लेषक अली एल गर्नीले इजिप्ट ‘लुटिएको’ भन्नु अतिरञ्जित हुन सक्ने बताए। उनका अनुसार अधिकांश विवादित निर्णय ‘फिफ्टी-फिफ्टी’ प्रकृतिका थिए। तर, ती सबै अर्जेन्टिनाकै पक्षमा गएको देखियो।
उनले इजिप्टको रद्द गरिएको गोलअघि भएको फउल स्पष्ट देखिए पनि भीएआरले कति अघिसम्मको खेल फर्केर हेर्न मिल्ने भन्ने प्रश्न उठाए। अर्जेन्टिनाको तेस्रो गोलअघि मोहम्मद सलाहमाथि सम्भावित फउल हुँदा पनि भीएआर मौन बसेको उनले उल्लेख गरे।
यस घटनापछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। फुटबल समर्थक र विश्लेषकहरूले भीएआरको प्रयोग, रेफ्रीको निर्णय र फिफाको पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पोर्चुगिज प्रशिक्षक जोजे मोरिन्होले समेत उक्त खेललाई ‘दिनदहाडै भएको लुट’को संज्ञा दिएका छन्।
यससँगै विश्वकप २०२६ मा रेफ्रिङको स्तर, भीआएर को प्रयोग र फिफाको पारदर्शितामाथि नयाँ बहस सुरु भएको छ।
पूर्व रेफ्रीको दाबी : सही थियो रेफ्रीको निर्णय
अर्जेन्टिनाविरुद्धको विश्वकप अन्तिम १६ को खेलमा इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको निर्णयलाई लिएर चर्किएको विवादबीच पूर्व प्रिमियर लिग रेफ्री एन्डी डेभिसले उक्त निर्णय नियमअनुसार सही भएको दाबी गरेका छन्।
ईएसपीएनका भीएआर विश्लेषक डेभिसका अनुसार इजिप्टका डिफेन्डर मारवान आतियाले गोल बन्नुअघि अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजको जर्सी तान्नुका साथै खुट्टामाथि टेकेका थिए। यही फउलका कारण अर्जेन्टिनाको आक्रमण रोकिएको र त्यसैबाट इजिप्टले काउन्टर आक्रमण गर्दै गोल गरेकाले भीएआरको हस्तक्षेप उचित भएको उनको निष्कर्ष छ।
६२औँ मिनेटमा मोस्तफा जिकोले गोल गरेपछि भीएआर रेफ्री जेरोम ब्रिसार्डले फिल्ड रेफ्री फ्रान्स्वा लेटेक्सियरलाई अन-फिल्ड रिभ्यु गर्न सिफारिस गरेका थिए। भिडियो हेरेपछि रेफ्रीले गोलअघि फउल भएको ठहर गर्दै गोल रद्द गरेका थिए।
डेभिसका अनुसार एउटै आक्रमणको क्रममा भएको स्पष्ट फउलबाट गोल बनेको अवस्थामा त्यसलाई अमान्य घोषित गर्नु फुटबल नियमअनुसार सही निर्णय हो।
‘आतियाले जर्सी समातेका थिए र एकै समयमा मार्टिनेजको खुट्टामाथि पनि टेकेका थिए। भिडियो हेरेपछि रेफ्रीसँग गोललाई मान्यता दिने कुनै आधार थिएन,’ उनले भने।
यद्यपि, घटना मैदानको माथिल्लो भागमा भएको र गोल हुनुअघि केही समय बितेकाले समर्थकमाझ बहस हुनु स्वाभाविक रहेको उनले स्वीकार गरेका छन्।
खेलको अन्त्यतिर इजिप्टले दुई पटक पेनाल्टीको माग गरेको थियो। पहिलो घटनामा एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीको जर्सी तानेको दाबी गरिएको थियो।
अर्को घटनामा मोहम्मद सलाहले जुलियन अल्भारेजले आफूलाई लडाएको भन्दै पेनाल्टी मागेका थिए। तर, भीएआरले दुवै घटनामा मैदानको निर्णयलाई नै सही ठहर गरेको थियो।
डेभिसका अनुसार म्याक एलिस्टरको जर्सी समात्ने घटना सामान्य प्रकृतिको थियो। त्यसलाई पेनाल्टी दिनुपर्ने स्तरको फाउल मान्न नसकिने उनले बताए।
त्यस्तै, सलाहको घटनामा पनि अल्भारेजले फउल नगरेको र दुवै खेलाडीको खुट्टा ठोक्किँदा सलाह आफैं लडेका कारण पेनाल्टी नदिनु उचित निर्णय भएको उनको निष्कर्ष छ।
तर, इजिप्टले खेलपछि रेफ्री र भीएआरले दोहोरो मापदण्ड अपनाएको आरोप दोहोर्याएको छ। प्रशिक्षक होसाम हसनले फिफाले अर्जेन्टिनालाई प्रतियोगितामा जोगाउन खोजेकोसम्म आरोप लगाएपछि विश्वकप २०२६ मा रेफ्रिङ, भीएआरको प्रयोग र फिफाको निष्पक्षतामाथि नयाँ बहस चर्किएको छ।