काठमाडौं। कुमारी बैंकले दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउन जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजनामा सम्झौता गरेको छ।
सेवा, प्रक्रिया र रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्राथमिकता दिँदै बैंकले हरित वित्त र जिम्मेवार बैंकिङलाई संस्थागत गर्ने लक्ष्यसहित यो सहकार्य अघि बढाएको जनाएको छ।
यो साझेदारी जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा संचालित क्षेत्रीय कार्यक्रमअन्तर्गत गरिएको हो। उक्त कार्यक्रमले एसियाका निश्चित देशहरूमा वित्तीय क्षेत्रको रूपान्तरणलाई प्रवर्धन गर्ने उद्देश्य राखेको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्। दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै विस्तार गर्न परियोजनालाई २ चरणमा कार्यान्वयन गरिने जनाइएको छ।
बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौता बैंकका लागि दिगो बैंकिङको परिपक्व यात्रामा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्नेछ।
सम्झौताअनुसार कोअपरेसनले इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पासजस्ता विशेष प्राविधिक उपकरण उपलब्ध गराउनेछ। साथै, ग्रामीण क्षेत्र तथा साना-मझौला उद्यमको सशक्तीकरण र हरित उद्यम क्षमता अभिवृद्धिका लागि ‘डिस्क बिजनेस गेम’ संचालन गरी प्राविधिक सहयोग प्रदान गर्नेछ।