BIZMANDU
www.bizmandu.com

बालेनले सेड्युल बनाएर व्यवसायी भेट्दै, एफएनसीसीआई, सीएनआई र चेम्बरका दुई/दुई जना सिंहदरबारमा

२०८३ असार २४

बालेनले सेड्युल बनाएर व्यवसायी भेट्दै, एफएनसीसीआई, सीएनआई र चेम्बरका दुई/दुई जना सिंहदरबारमा
बालेनले सेड्युल बनाएर व्यवसायी भेट्दै, एफएनसीसीआई, सीएनआई र चेम्बरका दुई/दुई जना सिंहदरबारमा


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिलाई सेड्युल नै बनाएर भेटघाट गर्ने भएका छन्। चुनाव अगाडि पनि दुई/चार जना उद्योगीलाई मात्रै भेटेका बालेनले करिब २५ जना उद्योगी व्यवसायीलाई भेट्ने स्रोतले बतायो।

Tata
GBIME
Nepal Life

बालेनले चुनावअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी र भवानी राणालाई भेटेका थिए। त्यसपछि चुनावकै बेलामा बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनसँग केही उद्योगी व्यवसायीले भेटेका थिए।

पछिल्लो समय निजी क्षेत्र त्रसित भएको ब्रिफिङपछि बालेनले निजी क्षेत्रका दुई दर्जन उद्योगी व्यवसायीलाई भेट्न खोजेका हुन्। यो भेटका लागि सांसद विदुषी राणाले समन्वय गरेकी हुन्। ‘पाँच/सात जनाको दरले उद्योगी व्यवसायी भेट्ने तय भएको छ।

‘त्यही योजना अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सका उच्च पदाधिकारीसँग प्रधानमन्त्रीज्यूले भेट्दै हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बिजमाण्डूसँग भने, ‘त्यसपछि अर्को टोलीलाई शुक्रबार र सोमबार भेट्ने तय भएको छ।’

ती सदस्यका अनुसार बुधबार एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति उज्जवलकुमार श्रेष्ठ, सीएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक घनश्याम ओझा तथा चेम्बरका अध्यक्ष कमलेश अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सिंहदरबार पुगेका छन्। सीएनआईका अध्यक्ष वीरेन्द्र पाण्डे विदेश भ्रमणमा छन्।