BIZMANDU
www.bizmandu.com

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा

२०८३ असार २३

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा
दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा


काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ। इजिप्ट विरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै ३-२ गोलको जित निकाल्दै अर्जेन्टिनी टोली क्वार्टरफाइनलमा पुगेको हो।

Tata
GBIME
Nepal Life

अटलान्टामा आज सम्पन्न खेलमा खेलको ७८ मिनेटसम्म अघि रहेको इजिप्टविरुद्ध त्यसपछि तीन गोल गर्दै अर्जेन्टिनाले हारको मुखबाट सनसनीपूर्ण जित निकालेको हो।

खेलको १५औं मिनेटमा मरावान अटियाको कर्नरमा यासेर इब्राहिमले शक्तिशाली हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। १९औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लिओनेल मेस्सीको प्रहार गोलकिपर मोस्तफा शोबेरले उत्कृष्ट बचाउ गरेपछि पहिलो हाफ इजिप्टले १–० को अग्रतासहित टुंग्यायो।

दोस्रो हाफमा इजिप्टले ६७औं मिनेटमा मोहमद सलाहको नेतृत्वमा गरिएको तीव्र काउन्टर अट्याकलाई मोस्तफा जिकोले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनायो। त्यसअघि जिकोकै अर्को गोल भिडियो सहायक रेफ्री (भीएआर) ले फाउल ठहर गर्दै रद्द गरेको थियो।

दुई गोलले पछि परेपछि अर्जेन्टिनाले खेलमा जबर्जस्त पुनरागमन गर्‍यो। ७९औं मिनेटमा मेस्सीको सटीक क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर २-१ मा झारे।

त्यसको चार मिनेटपछि गोन्जालो मोन्टिएलको पासमा मेस्सीले पहिलो टचमै प्रहार गर्दा गोलकिपर शोबेरले छोए पनि बल क्रसबारमा लागेर जाली चुम्यो। उक्त गोलसँगै अर्जेन्टिनाले खेल २-२ को बराबरीमा ल्यायो।

बराबरीपछि लगातार दबाब बनाएको अर्जेन्टिनाले इन्जुरी समयको दोस्रो मिनेटमा निर्णायक गोल निकाल्यो। लाउटारो मार्टिनेजको उत्कृष्ट क्रसमा एन्जो फर्नान्डेजले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाए।

सुरुआतमै पेनाल्टी गुमाएका मेस्सीले त्यसपछि एक गोल र एक असिस्ट गर्दै टोलीको पुनरागमनमा निर्णायक भूमिका निर्वाह गरे। अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि स्वीट्जरल्याण्ड र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ।