काठमाडौं। ‘चेकआउट बाइ फोनपे’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरिएको छ। फोनपेले मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकलाई लक्षित गरी नयाँ भुक्तानी समाधान विकास गरेको हो।
‘चेकआउट बाइ फोनपे’मार्फत भुक्तानी अझ छिटो र सहजरुपमा हुने फोनपेले बताएको छ।
‘चेकआउट बाइ फोनपे’मार्फत ग्राहकले व्यापारीको चेकआउट प्रक्रियामै सहजरूपमा भुक्तानी गर्न सक्नेछन्। कम्पनीका अनुसार यसमा अनावश्यक चरण हटाई अनलाइन भुक्तानीलाई अझ छिटो र सुविधाजनक बनाउँछ।
यसले व्यापारीलाई चेकआउट प्रक्रियामा हुने अवरोध घटाउन, भुक्तानीको दर बढाउन तथा ग्राहकलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्न मद्दत गर्ने कम्पनीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।।
‘चेकआउट बाइ फोनपे’ हाल नबिल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा, सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, कृषि विकास, गरिमा विकास र मुक्तिनाथ विकास तथा मञ्जुश्री फाइनान्सका मोबाइल बैंकिङ एपमा उपलब्ध छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन ‘चेकआउट बाइ फोनपे’ विकास गरेको बताए।
‘चेकआउट बाइ फोनपे अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको हो जसले ग्राहकका लागि कारोबारलाई अझ छिटो र सहज बनाउनुका साथै व्यापारीहरूलाई उत्कृष्ट चेकआउट अनुभव प्रदान गर्न सहयोग गर्छ,’ उनले भने।
कम्पनीले पहिलो मर्चेन्टका रूपमा फास्टोमा सेवा सुरु गरेको छ। फोनपेले फास्टोसँगको सहकार्यमा मंगलबारबाट नै एक साताका लागि उपभोक्ता अभियान सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत फास्टोमार्फत अर्डर गरी चेकआउट बाइ फोनपे प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत क्यासब्याक (अधिकतम १,००० रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्।