काठमाडौं। विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक बहुमतले पारित गरेको हो।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले विधेयक पारित गर्न सहयोग गरेका थिए। एमालेका सांसद भने विधेयकको विपक्षमा उभिएका थिए।
सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा खर्च कटौतीका लागि राखेका प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको थियो।
विनियोजन विधेयक प्रतिनिधि सभाबाट असार ४ गते पारित भएको थियो।
बैठकले अध्यादेश प्रतिस्थापनका लागि ल्याइएका चार वटा विधेयक दफाबार छलफलका लागि विधायन समितिमा पठाएको छ। बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक समितिमा पठाएको हो।
सरकारले गत वैशाख तेस्रो साता सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण लगायत ८ वटा अध्यादेश ल्याएको थियो। ८ मध्ये चार वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाले असार ५ गते स्वीकृत गरेका थिए।
अध्यादेश जारी भएको एक सातापछि अर्थात वैशाख २८ गते संसद्को अधिवेशन सुरु भएको थियो। अध्यादेश सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ। त्यो समयभित्र प्रमाणीकरण नभए अध्यादेश स्वत: निष्कृय हुन्छ।
अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधि सभाले असार १८ गते पारित गरेको थियो।