BIZMANDU
www.bizmandu.com

अटो प्रदर्शनीस्थलमा बिजुलीको डेडिकेटेड लाइन दिन बेवास्ता, व्यवसायीले जेनेरेटर राख्नुपर्ने बाध्यता

२०८३ असार २३

अटो प्रदर्शनीस्थलमा बिजुलीको डेडिकेटेड लाइन दिन बेवास्ता, व्यवसायीले जेनेरेटर राख्नुपर्ने बाध्यता
अटो प्रदर्शनीस्थलमा बिजुलीको डेडिकेटेड लाइन दिन बेवास्ता, व्यवसायीले जेनेरेटर राख्नुपर्ने बाध्यता


काठमाडौं। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिजुलीको भरपर्दो डेडिकेटेड लाइन व्यवस्था हुन नसक्दा अटो व्यवसायीले यसपालि पनि अतिरिक्त खर्च व्यहोर्नुपर्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्रदर्शनीस्थलमा आवश्यकता अनुसार विद्युत् आपूर्तिको व्यवस्था नगरिएकाले अटो व्यवसायीले यसपालिको गाडी मेलामा पनि जेनेरेटर राख्नुपर्ने भएको हो।

विशेषगरी अटो शो, औद्योगिक प्रदर्शनी र आईटी मेलामा विद्युतीय उपकरण, एलईडी डिस्प्ले, चार्जिङ प्रणाली, एसी, लाइट, फ्यान र अन्य प्रविधिमैत्री संरचना निरन्तर संचालन गर्न स्थिर विद्युत् आपूर्ति अत्यावश्यक मानिन्छ। तर डेडिकेटेड लाइनको अभावमा आयोजकले वैकल्पिक स्रोतको रुपमा जेनेरेटरमै भर पर्नुपर्ने अवस्था छ।

एक महिनापछि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोका संयोजक गौरव शारडाले प्रदर्शनीलाई चाहिने क्षमताको बिजुलीको व्यवस्था नभएकाले आफूहरुले अतिरिक्त खर्च गरेर जेनेरेटर चलाउनुपर्ने बताए।

‘भृकुटीमण्डपको प्रदर्शनीस्थलमा पूर्वाधारको समस्या छ। यतिसम्म कि बत्तीका लागि ट्रान्सफर्मर पनि हामीले नै व्यवस्था गर्नुपर्छ भनिएको छ। त्यहाँ डिजेल जेनेरेटर ब्याकअप पनि हामीले नै प्रोभाइड गर्नुपर्नेछ,’ शारडाले भने, ‘हामीले वर्षौदेखि अटो शो गर्दै आइरहेका छौं। हरेक पटक डेडिकेटेड लाइनको व्यवस्था गर्न हामीले माग गर्दै आएका छौं। तर अहिलेसम्म कुनै सरकारले पनि वास्ता गरेनन्।’

प्रदर्शनीस्थलमा डेडिकेटेड लाइन नहुँदा अटो व्यवसायीले स्टलमा आवश्यकता अनुसार विद्युत पाउँदैनन्। ‘सवारी विक्रेताहरुले चाहेर पनि आफूले भने जस्तो स्टल बनाउन सक्ने अवस्था छैन। डेडिकेटेड लाइन नहुँदा स्टलमा लाइटिङदेखि हरेक कुरामा असर गर्छ,’ शारडाले भने।

व्यवायीहरुका अनुसार अटो शो ७ दिन चल्दा जेनेरेटरका लागि मात्रै ५० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाइन उपलब्ध गराएको अवस्थामा ७ दिनमा १ लाख युनिट हाराहारी बिजुली विद्युत हुन्छ। यो भनेको १०-१५ लाख रुपैयाँ हो।

अटो शोका लागि कम्तीमा १ हजार केभीएदेखि १५०० केभीए क्षमताको डेडिकेटेड लाइन आवश्यक पर्ने व्यवसायीहरुले बताए। तर अहिले २.५ केभीए क्षमताको मात्रै ट्रान्सफर्मर राखिएको छ। त्यसैले व्यवसायीहरुले जेनेरेटरमा भर पर्नुपर्ने बाध्यता रहेको हो।

प्रदर्शनीस्थल समाज कल्याण परिषद् अन्तर्गत पर्छ। परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले व्यवसायीको आग्रहमा विद्युत आपूर्ति बढाउन प्रयास गरिरहेको बताए। ‘हामीले लाइनको क्षमता वृद्धि गर्ने प्रयास गरिराखेका छौं। त्यसका लागि ७.५ केभीए क्षमताको ट्रान्सफर्मर राख्न प्राधिकरणमा आवेदन दिएका छौं,’ उनले भने।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीका अनुसार अहिलेसम्म क्षमता विस्तारका लागि कुनै प्रक्रिया थालिएको छैन। ‘उहाँहरुलाई कति क्षमताको ट्रान्सफर्मर चाहिने हो? एप्लिकेसन दिएको खण्डमा तत्कालै काम हुन्छ। त्यसमा कुनै पनि समस्या छैन्। पत्र पाउनासाथ हामी द्रुत गतिमा काम गर्न तयार छौं,’ उनले भने।