BIZMANDU
www.bizmandu.com

अर्थसचिवका आकांक्षी शोभाकान्तलाई पुर्‍याइयो मधेश प्रदेश, सुधनलाई सफाइपछि किन भयो उल्टो?

२०८३ असार २३

अर्थसचिवका आकांक्षी शोभाकान्तलाई पुर्‍याइयो मधेश प्रदेश, सुधनलाई सफाइपछि किन भयो उल्टो?
अर्थसचिवका आकांक्षी शोभाकान्तलाई पुर्‍याइयो मधेश प्रदेश, सुधनलाई सफाइपछि किन भयो उल्टो?


काठमाडौं। सरकारले अर्थ सचिवको आकांक्षी रहेका महालेखा नियन्त्रक शोभाकान्त पौडेललाई मधेश प्रदेशमा सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले पौडेललाई मधेश प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको हो।

Tata
GBIME
Nepal Life

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि पौडेलले अर्थ सचिव बन्न प्रयास गरेका थिए। स्रोतका अनुसार उनले बालेनको सचिवालयका सदस्यलाई समेत भेटेर अर्थ सचिवका लागि लबिङ गरेका थिए।

उनले बजेट अगाडि नै अर्थसचिव घनश्याम उपाध्यायलाई हटाएर त्यो ठाउँ आफूले लिन चाहेका थिए। त्यही बीचमा विवादास्पद व्यापारी दीपक भट्ट समातिएसँगै लघु बीमामा केही उच्च पदस्थ कर्मचारीको सेयर रहेको बाहिरियो। त्यसपछि पौडेलले अर्थ सचिवका लागि झनै दौडधुप बढाएको स्रोतले बतायो।

तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ती उच्च पदस्थ कर्मचारीको सेयरमा लगानी र स्रोतका बारेमा बुझे। बैंकको चेक लगायत प्रमाणका आधारमा स्वर्णिम आश्वस्त बनेका थिए।

विवादास्पद व्यापारीका कम्पनीमा सेयर नभएका तर उनीहरुसँग निकट रहेका कर्मचारीका सूचना पनि आफूकहाँ आइपुगेपछि अर्थमन्त्री वाग्लेले अर्थसचिव फेरबदल गर्न रुची नदेखाएको स्रोतले बतायो। त्यतिखेर अर्थमन्त्री बजेट निर्माणमा पनि व्यस्त थिए। सचिव फेरबदल गर्दा बजेटको काम प्रभावित हुने भएकाले पनि स्वर्णिमले चासो देखाएका थिएनन्।

बजेट अगाडि गृहमन्त्री सुधन गुरुङ दीपक भट्टको लघु बीमा कम्पनीमा सेयर रहेको भन्दै विवादमा परे। विवादका कारण सुधन राजीनामा दिन बाध्य भए। गुरुङको सेयर लगानीका विषयमा सरकारले छानबिन गर्न समिति बनायो।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय समितिमा सचिव पौडेल पनि सदस्य थिए।

स्रोतका अनुसार समितिले छानबिन प्रतिवेदन तयार पारेपछि पौडेल केही उत्साहित देखिएका थिए। समितिले गुरुङलाई गृहमन्त्रीमा आउन बाटो खोलिदिएपछि पौडेल उत्साहित भएका हुन्। सेयर लगायत लगानीका पक्षलाई मिहिन ढंगले खोज्ने र प्रतिवेदन तयार पार्ने काममा पौडेलको भूमिका महत्वपूर्ण थियो। त्यो विषयमा सुधन पनि जानकार थिए।

‘गुरुङलाई गृहमन्त्रीमा फर्किन मिल्ने प्रतिवेदन आएपछि पौडेलले निकटका केही कर्मचारीलाई आफू अर्थ सचिव नभए पनि मुख्यसचिवसम्म हुने बताएका थिए,’ स्रोतले भन्यो, ‘सिंहदरबारभित्र कसैलाई भनेको यही कुरा पौडेलका लागि अहिले घातक भयो। त्यही कुराले उनको मधेश प्रदेशमा सरुवा भएको हो।’

प्रधानमन्त्री बालेन कर्मचारीले अनावश्यक रुपमा गर्ने चलखेलमा अत्यन्तै निर्मम छन्। उनले यसअघि उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले एसएमएस पठाएर राजदूत बन्ने आकांक्षा प्रकट गर्दा प्रहरी लगाएर नियन्त्रणमा लिइ पछि उनलाई अतिरिक्त समूहमा राखेका थिए।

‘प्रधानमन्त्रीज्यू कर्मचारीले आफ्नो काम गर्नुपर्छ, अनावश्यक चलखेल गर्न हुँदैन भन्नेमा स्पस्ट हुनुहुन्छ। कसैले मन्त्रीसँग निकट रहेर यहाँ जान्छु भनेको थाहा पाउने बित्तिकै त्यसलाई रोक्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैको निशानामा पौडेल परेको हुनसक्छ।’

हालका मुख्यसचिव सुमनराज अर्यालले २५ गते अवकाश पाउँदैछन्। उनले महालेखा नियन्त्रक पौडेलको मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको तर मन्त्रिपरिषद्‍ले गरेको सरुवाको निर्णयबारेमा आफूले केही भन्न नसक्ने बताए।