BIZMANDU
www.bizmandu.com

एनपीएल अक्सन : २० लाख खर्चिएर आशिफमा लुम्बिनीको बाजी, अरु खेलाडी को कहाँ पुगे?

२०८३ असार २३

एनपीएल अक्सन : २० लाख खर्चिएर आशिफमा लुम्बिनीको बाजी, अरु खेलाडी को कहाँ पुगे?
एनपीएल अक्सन : २० लाख खर्चिएर आशिफमा लुम्बिनीको बाजी, अरु खेलाडी को कहाँ पुगे?


काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलाडी अक्सन सम्पन्न भएको छ। यस अक्सनमा आठवटै फ्रेन्चाइजले आफ्नो आवश्यकता र बजेट अनुसार खेलाडी खरिद गरेका छन्।

Tata
GBIME
Nepal Life

अक्सनको सबैभन्दा ठूलो ‘डिल’ लुम्बिनी लायन्सले गरेको छ। टोलीले मार्की खेलाडी मोहम्मद आसिफ शेखलाई २० लाख रुपैयाँमा किनेको छ। यसअघिका दुई संस्करणमा जनकपुर बोल्ट्सको मार्की खेलाडी रहेका उनलाई यस संस्करण अघि भने उनलाई टोलीले रिलिज गरेको थियो। यो सँगै यस वर्षको अक्सनमा सबै टोली आशिफमाथि सबैभन्दा ठूलो रकम खर्चिन तयार भए।

‘ए’ क्याटेगोरीका बाँकी चार खेलाडी तृतराज दास (जनकपुर बोल्ट्स), विवेककुमार यादव (चितवन राइनोज), रुपेशकुमार सिंह (विराटनगर किंग्स) र अर्जुन घर्ती (पोखरा एभेन्जर्स) सबैलाई १५-१५ लाखमा किनिएको छ।

अक्सनमा सबैभन्दा धेरै खर्चने टोली बन्यो लुम्बिनी लायन्स। उसले कूल ४४ लाख रुपैयाँ खर्चिँदा जनकपुर बोल्ट्सले ४१.२५ लाख, विराटनगर किंग्सले ३५.२५ लाख, पोखरा एभेन्जर्सले २६.७५ लाख तथा चितवन राइनोज, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले समान २६ लाख खर्चिँदा काठमाडौं गोर्खाजले सबैभन्दा कम १७ लाख रुपैयाँ खर्चियो।

कुन टोलीमा कोको?

जनकपुर बोल्ट्सले ‘ए’ क्याटागोरीका तृतराज दाससँगै अभिषेक तिवारी, विशालकुमार पटेल र अमरसिंह रौटेलालाई ५-५ लाखमा ‘बी’ क्याटेगोरीमा जोडेको छ। ‘सी’ क्याटागोरिका रित गौतम ४.२५ लाखमा टोलीमा थपिँदा सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल शुस्लिङ पनि जनकपुर पुगेका छन्।

विराटनगर किंग्सले ‘ए’ क्याटगोरीका रुपेशकुमार सिंहका साथै नरेन साउद र दिलसाद अलीलाई ५-५ लाखमा लिएको छ। ‘सी’ बाट सुजन थपलिया सर्वाधिक ४.२५ लाखमा तथा अपराजित पौडेल, प्रतिक श्रेष्ठ र इमारन शेख २ लाखमा विराटनगर पुगे।

लुम्बिनी लायन्सले ‘ए’का आसिफ शेखपछि ‘बी’का किशोर महतोलाई १० लाखमा अनुबन्ध गर्‍यो। त्यस्तै,  दुर्गेश गुप्ता तथा आकाश त्रिपाठीलाई ५-५ लाखमा जोडेर सबैभन्दा बलियो ‘बी’ क्याटेगोरी टोली बनाएको देखिन्छ। ‘सी’ क्याटागोरीबाट अरनिको यादव र अजय चौहान समान २ लाखमा लुम्बिनी पुगेका छन्।

सुदूरपश्चिम रोयल्सले ‘ए’ क्याटागोरीमा खेलाडी किनेन। उसले ‘बी’का दीपक बोहरालाई १० लाखमा र अनिल खरेल तथा मिलन बोहरालाई ५-५ लाखमा लिएको छ। ‘सी’ का सचिन भट्ट, ऐय्युव चन्द र टेक रावत पनि सुदूरपश्चिम पुगेका छन्।

कर्णाली याक्सले ‘ए’ मा कुनै खेलाडी नलिँदा ‘बी’ बाट शुभ कंसाकारलाई १० लाखमा र दीपेन्द्र रावत तथा विपिनप्रसाद शर्मालाई ५-५ लाखमा जोडेको छ। ‘सी’ बाट सूर्य तामाङ, सचिन शर्मा र दिवन पुन समान २ लाखमा कर्णाली पुगे।

चितवन राइनोजले विवेककुमार यादवबाहेक बाँकी सबै खेलाडी ‘सी’ क्याटेगोरीबाटै लियो। विवेकलाई १५ लाखमा लिएको उसले ‘सी’ बाट ३ लाख खर्चिएर मौसम ढकाल तथा २ लाख खर्चिएर अशोक धामी, विपिन रावल, गौतम केसी र सलाउद्दीन खानलाई लियो।

पोखरा एभेन्जर्सले ‘ए’का अर्जुन घर्तीमा १५ लाख खर्चिँदा ‘सी’पछि सुदिप अर्याललाई ३ लाखमा र विवेक राना मगरलाई २.७५ लाखमा थपेको छ। त्यस्तै, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्य २ लाख रुपैयाँमा पोखरा पुगेका छन्।

काठमाडौं गोरखाजले सबैभन्दा कम पर्स लिएर अक्सनमा प्रवेश गरेको भए पनि साहिल पटेललाई ५ लाखमा लिई बाँकी सबै खेलाडी २–२ लाखको न्यूनतम मूल्यमा जोडेको छ। प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूर्यांसु कोइराला २ लाखमा काठमाडौं पुगे।

नियमअनुसार प्रत्येक फ्रेन्चाइजले ट्यालेन्ट हन्टमार्फत थप दुई-दुई नेपाली खेलाडी अनिवार्य रूपमा टोलीमा समावेश गर्नुपर्नेछ। त्यसपछिको भने टिमको सन्तुलन मिलाउन टोलीले कस्ता विदेशी खेलाडी भित्र्याउनेछन् भन्नेमा नजर रहनेछ।