काठमाडौं। बुद्ध एयरको काठमाडौं-पोखरा उडान करिब एक घण्टा आकाशमा ओभर सुट भएको छ।
राति ९ बजेर ५ मिनेटमा काठमाडौंबाट उडेको बुद्धको जहाज करिब १० बजेर २ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो। काठमाडौं-पोखरा रुटको दूरी करिब २५ मिनेटको हो।
काठमाडौं-पोखरा रुटमा आएको प्रतिकूल मौसमले बुद्धको उडान नम्बर ६१९ को जहाज पौने घण्टा होल्ड भएको हो।
इनरुट मौसम प्रतिकूल हुँदा बुद्धले अतिरिक्त समय आकाशमा ओभर सुट गर्नुपरेको हो। पोखरा विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार जहाज १० बजेर २ मिनेटमा पोखरा विमानस्थलमा ल्यान्ड गरेको थियो।
’१० बजेर २ मिनेटमा जहाज अवतरण भएको हो। काठमाडौंबाट उडान गर्दा काठमाडौं र पोखरा विमानस्थलको मौसम ठिक थियो। तर इनरुट मौसम बिग्रेकाले धेरै समय आकाशमा ओभर सुट गर्नुपर्यो,’ निरौलाले भने।
बुद्धले मौसम खराब भई अवतरणमा भएको ढिलाइबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई जानकारी नगराएको विमानस्थल स्रोतले बतायो।
यति एयरलाइन्सले भने मौसम खराबको कारण देखाउँदै ७ बजे नै उडान रद्द गरेको थियो। तर बुद्धले यात्रु धेरै भएको कारण ढिला गरेर उडान गरेको थियो।