BIZMANDU
www.bizmandu.com

१०० दिन पुगेसँगै आफ्नै सांसदको घेराबन्दीमा बालेन: चुनावपछि जनता चिन्न छाडेको हो?

२०८३ असार २२

१०० दिन पुगेसँगै आफ्नै सांसदको घेराबन्दीमा बालेन: चुनावपछि जनता चिन्न छाडेको हो?
१०० दिन पुगेसँगै आफ्नै सांसदको घेराबन्दीमा बालेन: चुनावपछि जनता चिन्न छाडेको हो?


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पूरा भएसँगै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रबाट असन्तुष्टि सार्वजनिक हुन थालेको छ।

Tata
GBIME
Nepal Life

यसअघि बचाउ गर्दै आएका रास्वपा सांसदहरू नागरिकका समस्याप्रति उत्तरदायी नभएको भन्दै सरकारप्रति असन्तुष्ट बनेका हुन्। सरकारले सय दिनमा ‍परिणामुखी काम गर्न सफल भएको निष्कर्ष सुनाइरहेका बेला रास्वपा सांसद त्यसमा सहमत छैनन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा रास्वपाका सांसदले असन्तुष्टि सार्वजनिक गरे। यसअघिका सरकारजस्तै नागरिकका समस्यामा मौन रहेको भन्दै रास्वपाका सांसदहरू आक्रोशित बनेका छन्।

सोमबारको प्रतिनिधि सभाको बैठक

‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने बालेनको विवादित अभिव्यक्तिमा यसअघि टेबल बजाएर साथ दिएका रास्वपाका सांसदले अब जनताका मुद्दामा खरो उत्रिन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। 

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर सरकार रहने वाला छैन’

दोलखाबाट निर्वाचित सांसद जगदीश खरेलले संसद्प्रति जबाफदेही नबनेको भन्दै बालेनको आलोचना गरे। उनले सरकारले संसद्को गरिमा जोगाए मात्रै पाँच वर्ष चल्न सक्ने भन्दै सांसदको असन्तुष्टि बढ्दै गए सरकार जति बेला पनि अप्ठेरोमा पर्ने चेतावनी समेत दिए।

‘फेरि महामारी फैलियो भने पुराना शक्तिहरू आफैंमात्र बिग्रिएर सकिएका होइनन्। यही शक्तिले सकाएको हो। हामीलाई पनि यही शक्तिले सक्छ। प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने वाला छैन। हाम्रो पनि गरिमा बच्नु पर्छ। हाम्रो भूमिका यहाँ आएर ढ्यापढ्याप गर्ने मात्र हो? यतिमा सन्तुष्ट हुनेवाला छैन। नागरिक पनि सन्तुष्ट हुनेवाला छैन,’ उनले भने।

जगदीश खरेल

खरेलले सुरुमा आफू सरकार राम्रैसँग चलेको विश्वासमा रहेको भए पनि पछिल्लो समय भने सांसदको आत्मसम्मानमा चोट पुगिरहेको बताए। ‘सदनमा रहेका सांसदको गरिमा रहेन भने आत्मसम्मानमा चोट पुग्यो भने यो सदन गरिमामय रहँदैन। केही दिन त सरकार चल्दै छ भन्ने सोचेका थियौं। तर समय बित्दै जाँदा ब्युरोक्रेसी सलबलाएको हामीले देखेका छौं। भोट माग्दै जाँदा हामीले हरेक नागरिकको समस्या समाधान गर्छौं भनेका थियौं,’ उनले भने।

खरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालमाथि मन्त्रालयमा नातावाद चलाएको आरोप लगाए। उनले नातावादविरुद्ध वकालत गरेर रास्वपाले जनमत ल्याएको भन्दै अहिलेको सरकारले पनि नातावाद चलाउन खोजेको बताए।

‘दोलखाको एक जना चेलीले भन्नुहुन्छ पूर्वाधार मन्त्रालयमा मेरो आफन्त नभएबापत मेरो जागिर गयो। म सोध्न बुझ्न गएँ। सचिवको जवाफ के आउँछ भने तपाईँ अख्तियार अदालत जानुस्। मलाई अख्तियार अदालत जान एक जना कर्मचारीले सिकाउनु पर्छ?,’ उनले भने। 

‘सरकारप्रति विश्वसनीयता कमजोर’

खरेल मात्रै होइन बालेनले चुनाव जितेको जिल्ला झापा-३ का सांसद प्रकाश पाठक पनि बिजुलीको आपूर्ति राम्रोसँग नभएको भन्दै असन्तुष्ट बनेका छन्।

उनले बालेनले चुनाव जितेपछि जनता बिर्सिएको आरोप पनि लगाए। बिजुली आपूर्ति प्रणालीमा देखिएको समस्या समाधान गर्नेमा सरकारप्रति पाठक सशंकित छन्।

‘४० डिग्रीको गर्मीमा बसिरहेका मेरो जिल्लाका नागरिकलाई चुनाव पछि राज्यले चिन्न छाडेको हो? कि विद्युत् आपूर्ति प्रणाली व्यवस्थापनका लागि यो मुलुकमा कुलमान घिसिङ नै चाहिएको हो?,’ उनले भने।

पाठकले १०० दिनसम्म पनि सरकारले नागरिकलाई चुस्त सेवा दिन नसक्दा आशा निराशामा परिणत भइरहेको टिप्पणी गरे। ‘रकम तिरेर पनि भरपर्दो सेवा प्राप्त गर्न सकिन्न भने जोसुकैले जतिसुकै बखान गरे पनि सरकारप्रति नागरिकको विश्वसनीयता कमजोर बन्ने छ,’ पाठकले भने।

प्रकाश पाठक

झ्याप-झ्याप गइरहने बिजुलीको समस्या उठाउने पाठक एक्ला सांसद होइनन्। मेलम्चीको पानी काठमाडौंमा आएको तथा गाउँघरका खोलानालाको पानीबाट निकालिएको बिजुली शहरमा आएको भए पनि  गाउँमा बिजुली र खानेपानी नपुगेको भन्दै रास्वपाका अर्का सांसद यज्ञमणि न्यौपानेले पनि सरकारको आलोचना गरे।

‘मोरङ मिक्लाजुङमा कहिलेसम्म बिजुली जाने हो? खानेपानी पनि पिउन पाएका छैनन्। बजेटमा पनि समावेश भएको छैन। मेलम्ची त काठमाडौं छिर्‍यो। गाउँको पानी त काठमाडौं पुग्यो। सिंहदरबारको पानी कहिले गाउँ जाने हो? खानेपानी मन्त्रालय पनि छैन। यो कुरा सुनिएन,’ अरुबेला सरकारको खरो बचाउमा उत्रिने न्यौपानेले भने।

बस्तीहरूमा डोजर चलाउने नीतिको पनि रास्वपाका सांसदले विरोध गरे। वीरगञ्जको सडक फराकिलो बनाउन डोजर चलाइएको भन्दै रास्वपाका सांसद नरेन्द्र कुमार गुप्ताले बालेनलाई खबरदारी गरे। उनले अहिलेको सरकारले पनि नागरिकप्रति अन्याय गरिरहेको आरोप लगाए।

नरेन्द्र कुमार गुप्ता

‘आर्थिक र व्यावसायिक सहरको रूपमा चिनिने वीरगन्ज आज बिहानदेखि भग्नावशेष हुँदैछ। २५ मिटरको फराकिलो सडक बनाउने भन्ने कुरा बजार अनुसार प्रतिकूल छ। कतिपय घरबारविहीन हुने स्थिति छ। बजार क्षेत्र सयौं वर्ष पुराना घर भएको ठाउँ हो। डोजर चलाएर भत्काउनु न्यायसंगत छैन,’ गुप्ताले भने। 

दूध किसानको पैसा खै?

रास्वपाको चितवनमा सम्पन्न पहिलो महाधिवेशनदेखि नै असन्तुष्ट सांसद मधुकुमार चौलागाइँ पछिल्लो समय सरकारविरुद्ध आक्रोशित हुन थालेका छन्।

अहिलेकै शैली जारी राखे सरकार राम्ररी सञ्चालन हुन नसक्ने चौलागाइँको बुझाइ छ। उनले दुग्ध विकास संस्थानभित्रको १ करोड १७ लाख रुपैयाँ घोटालाको प्रतिवेदन सरकारले गुपचुप राखेको आरोप लगाए। भ्रष्टाचार गर्नेलाई कारबाही गरेर किसानलाई बक्यौता दिनुपर्नेमा सरकार मौन बसेको उनको आरोप छ।

‘अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्रको घोटाला छानबिन गर्न २०८१  वैशाख १६ गते समिति गठन गर्‍यो। जेठ १६ गते १ करोड १७ लाख रुपैयाँ घोटाला भएको भनेर प्रतिवेदन दियो। त्यो प्रतिवेदन कहिले सार्वजनिक हुन्छ? दूध किसानले कहिले भुक्तानी पाउँछन्?,’ उनले भने।

मधु चौलागाईं

किसानको मुद्दा उठाएर सरकारलाई जिम्मेवार बनाउन चाहने अर्की सांसद हुन् -आशिका तामाङ। उनले सरकारले बर्ड फ्लू संक्रमण रोक्न सरकारले उचित कदम चाल्नुको साटो किसानलाई मारमा पार्न मात्रै शाहको सरकार उद्दत भएको बताइन्।

‘बर्ड फ्लू पुष्टि हुने प्रक्रियामा रहँदा नेपाल टेलिकमको रिङटोनमा किसानलाई मार पर्ने गम्भीर सूचना सम्प्रेषण गरियो,’ सरकारको आलोचनामा तामाङले भनिन्।

आसिका तामाङ

बालेन नेतृत्वको सरकार बनेसँगै नागरिकको जीवन सहज हुने रास्वपाले घोषणा गरेको थियो। किसानका मुद्दामा सरकार गम्भीर बन्ने सरकारका मन्त्रीले प्रतिवद्धता पनि जनाएका थिए।

तर, रास्वपाकै सांसदहरुले शाह नेतृत्वको सरकारले किसानका पीडा नबुझेको आरोप लगाइरहेका छन् भने यसरी नै सरकार चल्न नसक्ने निचोडमा पुगेका छन्।

मोहनलाल आचार्य

रास्वपा सांसद मोहनलाल आचार्यले त मौज्दात रासायनिक मल समेत सरकारले किसानलाई वितरण गर्न नसकेको आरोप लगाए। ‘यस वर्ष पनि किसानहरू मल नपाएर तड्पिन बाध्य छन्। कृषि मन्त्रीलाई समयमै सजग गराइएको भए पनि आशातीत सुधार भएन,’ आचार्यले भने, ‘पालिका, सहकारी र कृषि सामाग्रीसंस्थाबीचको समन्वयनको अभावमा किसानले उपलब्ध मल पनि पाएका छैनन्।’

शाह सरकारको अब परीक्षा

बालेन सरकारको बचाउमा भए भरको बल लगाउँदै आएका रास्वपाका सांसद रमेश प्रसाईँले समेत सोमबार आलोचना गरे। उनले नयाँ सरकार आएपछि सडक दुर्घटनामा पनि कुनै कमी नआएको बताए।

रमेश प्रसाईं

उनले कर्णाली राजमार्गमा गाडी दुर्घटना भएर हराइरहेको र सरकारले उद्धार गर्न नसकेकोबारे गृहमन्त्री सुधन गुरुङले जवाफ दिनुपर्ने र त्यसका लागि सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने बताए।

‘नागरिकको जीवनभन्दा अरू कुरा सरकारको प्राथमिकता हुन सक्दैन। कर्णालीमा दुर्घटना भयो सरकारले उद्धारको लागि सम्पूर्ण क्षमता परिचालन गर्‍यो कि गरेन?  दुर्घटना न्यूनीकरणका लागि योजना के छन्। गृह मन्त्रीले यो रोस्टममा उभिएर जवाफ दिनैपर्छ सभामुख मार्फत तत्काल रुलिङको माग गर्छु,’ उनले भने।

रुबिना आचार्य

रास्वपाकी अर्की सांसद रुविना आचार्यले त बालेन नेतृत्वको सरकारका लागि अब परीक्षाको समय भएको बताएकी छन्।

उनले कोसी अस्पतालको जमिन दुरुपयोगबारे सरकारलाई प्रश्न गरेकी थिइन्। अस्पताललाई भवन बनाउन जमिन नभएको तर जमिन उपयोग गरेर व्यवसायी मालामाल भए पनि सरकारले जमिन फिर्ता ल्याउन नसकेको उनको भनाइ छ।

‘कोसी अस्पतालमा एउटै बेडमा तीन तीन जना बिरामी सुत्न बाध्य छन्। अस्पताललाई भवन बनाउन जमिन छैन, तर तेस्रो पक्षको व्यापार फस्टाएको छ। सरकारले अस्पतालको जग्गा खाली गर्न एक महिनाको समय दिएको थियो। फेरि ७ दिन समय दिएको छ। यो सरकारको परीक्षा हो,’ उनले भनिन्। 

विपक्षीको कडा टिप्पणीमा पनि रास्वपा मौन

विपक्षी दलका नेताहरूले सरकारको चर्को आलोचना गर्दा रास्वपाका सांसदहरूले सरकारविरुद्ध बोल्ने नेताहरूको आलोचना रास्वपाले गर्ने गरेको थियो।

अघिल्लो पटक प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेको अभिव्यक्तिको विरोधमा रास्वपाका सांसदहरूले टेबल ठोकेर विरोध जनाएका थिए। सरकारको आलोचना रास्वपाका सांसदहरूले सुन्न समेत चाहेका थिएनन्। तर, सोमबार आङदेम्बेले बालेनलाई उत्तर कोरियाका शासक किम जोङसँग तुलना गरे।

भीष्म आङदेम्बे

तर रास्वपाका सांसदहरूले कुनै विरोध जनाएनन् भने उनीहरूको हाउभाउ सरकारको आलोचना भइरहेका बेला विपक्षी सांसदहरूको जस्तै देखिएको थियो।

एमालेका सांसद गुरु बरालले पनि शाहको शैलीको चर्को आलोचना गरेका थिए। उनले अधिनायकवाद चलाएको आरोप लगाउँदा पनि रास्वपाका सांसदले सरकारको बचाउमा उत्रिएनन्।

अरुबेला रास्वपाले बालेनको आलोचनका बेला नियमापत्ति गर्ने गरेका थिए। रास्वपाका सांसदहरूले चर्को असन्तुष्टि व्यक्त गरिरहेकै बेला सभामुख डोलप्रसाद अर्यालले पनि सरकारका नाममा रुलिङ गरे। अरुबेला विपक्षीले रुलिङको माग गरेर आन्दोलन गर्दा पनि टसमस नहुने अर्यालले सोमबार सरकारलाई बाढी पहिरो तथा सडक दुर्घटना रोक्ने सरकारको तयारीबारे जानकारी गराउन निर्देशन दिएका हुन्।