BIZMANDU
www.bizmandu.com

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० भन्दा बढी नयाँ सवारी तथा उत्पादन सार्वजनिक हुने

२०८३ असार २२

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० भन्दा बढी नयाँ सवारी तथा उत्पादन सार्वजनिक हुने
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० भन्दा बढी नयाँ सवारी तथा उत्पादन सार्वजनिक हुने


काठमाडौं । साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने भएको छ।

Tata
GBIME
Nepal Life

सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक गौरव शारदाले यस वर्षको एक्स्पोमा विभिन्न कम्पनीहरुले ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गर्ने जानकारी दिए। उनका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ।

यस वर्षको नाइमा मोबिलिटी एक्स्पोको मुख्य प्रायोजक रेड बुल रहेको पनि आयोजकले जनाएको छ। संयोजक शारदाका अनुसार गत वर्षको तुलनामा यसपटकको एक्स्पो अझ ठूलो, व्यवस्थित र प्रिमियम स्तरको हुनेछ।

वर्षाका कारण गत वर्ष देखिएका आवतजावतका समस्यालाई समाधान गर्न हलदेखि हलसम्म सहज रूपमा आवतजावत गर्न मिल्ने व्यवस्था गरिने भनिएको छ। साथै, सवारी पार्किङका लागि नेपाल प्रहरी क्लब परिसरमा दिनभरि पार्किङ सुविधा उपलब्ध गराइने जानकारी दिइएको छ।

आयोजकका अनुसार एक्स्पोको प्रवेश टिकटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। आगन्तुकका लागि फुड कोर्टको व्यवस्था पनि गरिनेछ।

यस वर्ष पनि एक्स्पोमा लर्निङ सेसन संचालन हुनेछ। ती सेसनमा केवल अटोमोबाइल र प्रविधिमै सीमित नभई, भविष्यमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ अघि बढ्दै छ, नयाँ प्रविधि, नवप्रवर्तन तथा उद्योगको भावी सम्भावनाबारे विज्ञहरूसँग छलफल गरिने संयोजक शारदाले जानकारी दिए।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले स्थापना भएको छोटो अवधिमै नाइमा उल्लेखनीय रूपमा विस्तार भएको बताइन। उनले गत वर्ष २१ सदस्य कम्पनीबाट यात्रा सुरु गरेको नाइमा अहिले ३६ सदस्य कम्पनीसम्म विस्तार भएको बताइन्।

वैद्यका अनुसार नाइमाले आगामी महिनाबाट ‘नाइमा मोबिलिटी जर्नल’ प्रकाशनमा ल्याउने तयारी गरेको छ। उक्त जर्नलमार्फत नेपालका अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका गतिविधि, नीति, प्रविधि र बजारका विषय समेटिने उनले बताइन्।

उनले नाइमाले क्षमता अभिवृद्धि तथा ट्राफिक सेफ्टीका क्षेत्रमा पनि विभिन्न कार्यक्रम संचालन गर्दै आएको उल्लेख गरिन्।

मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले यस क्षेत्रको विकास सरकारसँग प्रत्यक्ष रुपमा जोडिएको बताइन्। नीति निर्माण, पूर्वाधार विकास तथा सहजीकरणमा सरकारको महत्वपूर्ण भूमिका रहने भएकाले सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

एक्स्पोमा मुख्य ब्रान्डहरू चार पांग्रेतर्फ हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेकु, एमजी-गो अटोमोबाइल, एमजी-पारामाउन्ट मोटर्स, सिट्रोन, आइकार, हेन्सरी भोल्ट्स, फोर्थिङ, डेन्जा, काइ, होन्री बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, एमजी, जिकर, लिपमोटर, वुलिङ, जीकर लगायत हुनेछन्।

दुई पांग्रेतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ,प्यूजो र बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटो/सीएक्स मोटरसाइकल लगायतका ब्रान्ड रहने जनाइएको छ। यस्तै कर्मियल भेहिकलतर्फ चेरी वान्डा, केरी, केयटन र स्काईवर्थ रहनेछन्।

मेलाको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिटल मिडिया साझेदारका रूपमा डिजिपाल सोलुसन्स आबद्ध रहेको जनाइएको छ।