BIZMANDU
www.bizmandu.com

हेलिकोप्टर सेवा प्रदायकको व्यापार ४०% ले घट्यो, राम्रा कम्पनीलाई नै खर्च धान्न मुस्किल

२०८३ असार २२

हेलिकोप्टर सेवा प्रदायकको व्यापार ४०% ले घट्यो, राम्रा कम्पनीलाई नै खर्च धान्न मुस्किल
हेलिकोप्टर सेवा प्रदायकको व्यापार ४०% ले घट्यो, राम्रा कम्पनीलाई नै खर्च धान्न मुस्किल


काठमाडौं। अमेरिका-इरान द्वन्द्वसँगै तेस्रो मुलुकबाट पर्यटक कम आएपछि हेलिकोप्टर सेवा प्रदायक कम्पनीको व्यापार ४० प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life

जेनजी आन्दोलनपछि खाडी तनावले युरोप र अमेरिकाका पर्यटक आउन कम भएकाले व्यापार हेलिकोप्टरको उडान ४० प्रतिशतले घटेको हो।

नेपाल वायुसेवा संचालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले हेलिकोप्टर व्यवसाय गम्भीर संकटमा परेको बताए।

‘आन्तरिक र बाह्य कारणले हेलिकोप्टर व्यवसाय अहिले ४० प्रतिशतले घटेको छ। राम्रा कम्पनीलाई नै संचालन खर्च धान्न समेत मुस्किल परेको छ,’ कैलाश हेलिकोप्टरका समेत प्रबन्ध निर्देशक रहेका पाण्डेले बिजमाण्डूसँग भने, ‘केही कम्पनी संचालन खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेका छन्।’

उनका अनुसार पर्यटकीय सिजनमै गत वर्ष सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका कारण पर्यटकले आफ्नो भ्रमण धमाधम रद्द गरेपछि हेलिकोप्टर व्यवसायमा खराब दिन सुरु भएको हो।

‘जेनजी आन्दोलनले पर्यटकीय सिजनमै अमेरिका, युरोपदेखि अष्ट्रेलियासम्मका पर्यटक यहाँ आउन सकेनन्। त्यो आन्दोलन लगत्तै ती देशले ट्राभल एडभाइजरी जारी गरे,’ पाण्डेले भने, ‘त्यसपछि धेरैले भ्रमण रद्द गरे। चुनावपछि वातावरण सुध्रिने आशमा बसेकामा खाडी तनावले तुषारापात गरिदियो।’

खाडी तनावका कारण पनि युरोप र अमेरिकाका धेरै पर्यटकले नेपाल भ्रमण रद्द गरे। ‘धेरै पर्यटक खाडी मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउँथे। अन्यत्रबाट आउँदा टिकट महँगो भयो। युद्धमा घुम्न हिंड्ने कुरै भएन,’ पाण्डेले भने, ‘इन्धनको चर्को मूल्यले पर्यटक यहाँ आउन सकेनन्। त्यसको मार पनि हामीलाई पर्‍यो।’

खुम्चिँदो व्यापारले मर्जरमा जान दबाब

व्यापार खस्किएपछि हेलिकोप्टर कम्पनीलाई मर्जरमा जान दबाब बढेको छ। संघका अध्यक्ष पाण्डे साना कम्पनीका लागि अहिलेको समस्याबाट पार पाउन मर्जर नै उपयुक्त हुने बताउँछन्।

‘जनशक्तिका लागि महँगो तलब, हेलिकोप्टरमा ठूलो लगानी र इन्धनका कारण संचालन खर्च धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले पनि कम्पनीसँग कम्तीमा पाँच वटा हेलिकोप्टर हुनुपर्ने नीति ल्याएको छ। बजार हेरेर कम्पनी थप्नुभन्दा मर्जरमा गएर लगानी सुरक्षित गर्नेतर्फ लाग्नु उपयुक्त हुन्छ।’

उनका अनुसार नीतिगत सहजीकरणसँगै करमा सहुलियत दिइए हेलिकोप्टर कम्पनी मर्जरमा जानेछन्।

संघका निवर्तमान अध्यक्ष एवं समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले एक वर्षयता हेलिकोप्टर सेवा प्रदायक कम्पनीको व्यापार ठप्पजस्तै रहेको बताए। उनका अनुसार समिटले अहिले मुस्किलले एउटा फ्लाइट गर्ने गरेको छ।

‘गत वर्ष दैनिक ४/५ वटा फ्लाइट हुने गर्थ्यो। अहिले मुस्किलले एउटा उडान गरिरहेका छौं,’ कार्कीले भने, ‘नेपालबाट पछिल्लो समय मानसरोवर जाने पर्यटक बढेका छन् तर हेलिकोप्टर चार्टर्ड गर्नेको संख्या निकै कम छ।’

व्यवसायीका अनुसार हेलिकोप्टर चार्टर्ड गर्ने पर्यटकमध्ये अधिकांश युरोप र अमेरिकाका हुन्। फागुन मध्ययता खाडी तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटक घटेकामा अब अफसिजन लागेको छ।

हेली एभरेष्टका संचालक प्रनिश श्रेष्ठले पनि व्यापारमा ठूलो गिरावट आएको बताए। ‘गर्मी छल्न भारतीय पर्यटक ठूलो संख्यामा भित्रिए पनि उनीहरुले हेलिकोप्टर प्रयोग नगरेकाले हामीलाई लाभ हुने कुरा भएन,’ श्रेष्ठले भने, ‘अब त अफसिजन नै सुर भएकाले यसपालि व्यापार चौपट भयो।’

उनका अनुसार हेलिकोप्टरको उडान ५० प्रतिशतभन्दा बढीले घटेको छ। ‘ हेलिकोप्टर कम्पनीको व्यापारमा ठूलो गिरावट आएको छ। जसले गर्दा धेरै कम्पनी अहिले संकटमा परेका छन्,’ श्रेष्ठले भने।

पुरानाको हालत खराब, नियामक नयाँ थप्दै

व्यापार घटिरहे पनि हेलिकोप्टर व्यवसायमा लगानी गर्न आउन चाहने भने घटेका छैनन्। हेली एयर नेपाल, सगरमाथा एयर, गगनचुम्बी एयर, सुमेदा एयर लगायत कम्पनी हेलिकोप्टर व्यापारमा आउन चाहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही कम्पनीलाई उडान संचालन एओसी(उडान योग्य प्रमाणपत्र) समेत दिएको छ।

‘खुला बजार आत्मसात गर्दै कम्पनी खोल्न सबैलाई छुट छ। तर, जुन पुराना कम्पनी समेत ह्याण्ड टु माउथको अवस्थामा भएका बेला लगानी फाल्नकै लागि यो क्षेत्रमा किन आइरहेका छन्?,’ एक हेलिकोप्टर संचालकले भने, ‘हवाई व्यवसाय बाघको सवारीजस्तै हो। त्यसले हामीलाई नै संकटमा पारिरहेका बेला यो व्यवसायमा आउनेलाई राम राम मात्रै भन्न सक्छौं।’