काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका दोलखाका सांसद जगदीश खरेलले बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन्। उनले सोमबार संसद्मा बोल्दै शाह नेतृत्वको सरकारले नातावाद चलाएको आरोप लगाए।
शाहले संसद्को गरिमा राख्न नसकेको आरोप पनि खरेलको छ। ‘सदनमा रहेका सांसदको गरिमा रहेन भने, आत्मसम्मानमा चोट पुग्यो भने यो सदन गरिमामय रहँदैन। केही दिन त सरकार चल्दै छ भन्ने सोचेका थियौं। तर समय बित्दै जाँदा ब्युरोक्रेसी सल्बलाएको हामीले देखेका छौं। भोट माग्दै जादा हामीले हरेक नागरिकको समस्या समाधान गर्छौं भनेका थियौं,’ उनले भने।
उनले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पनि नातावादका आधारमा कर्मचारीलाई बर्खास्त गरेर आफन्तलाई राखेको बताए। ‘दोलखाको एक जना चेलीले भन्नुहुन्छ भौतिक पूर्वाधार मन्त्रालयमा मेरो आफन्त नभएवापत मेरो जागिर गयो। म सोध्न बुझ्न गएँ। सचिवको आन्सर के आउँछ भने तपाईं अख्तियार-अदालत जानुस्। मलाई अख्तियार-अदालत जान एक जना कर्मचारीले सिकाउनु पर्छ?,’ उनले आक्रोस पोखे।
उनले सांसदहरुको असन्तुष्टि बढ्दै गए शाहको सरकार चल्न समस्या हुने टिप्पणी गरे। ‘फेरि महामारी फैलियो भने पुराना शक्तिहरु आफैंमात्र बिग्रिएर सकिएको होइन यही शक्तिले सकाएको हो। हामीलाई पनि यही शक्तिले सक्छ। प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहनेवाला छैन। हाम्रो पनि गरिमा बच्नु पर्छ। हाम्रो भूमिका यहाँ आएर ढ्यापढ्याप गर्ने मात्र हो। यतिमा सन्तुष्ट हुनेवाला छैन। नागरिक पनि सन्तुष्टहुनेवाला छैन,’ उनले भने।