काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाको नेपाल भ्रमणका क्रममा भन्सार सुधारको सम्झौता हुने भएको छ।
अर्थ मन्त्रालयका अनुसार भन्सार सुधारका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड) रुपैयाँको ऋण सम्झौता हुने भएको छ।
यो रकम भन्सार प्रशासनको डिजिटलाइजेसन, आधुनिकीकरण र व्यापार सहजीकरणमा सहयोग पुर्याउन लगानी हुनेछ।
जोखिममा आधारित परीक्षण प्रणाली, प्रक्रियागत सरलीकरण, संस्थागत समन्वय अभिवृद्धि र ढुवानी तथा लजिस्टिक्समा सहजीकरण गर्न पनि ऋण उपयोग हुने मन्त्रालयले जनाएको छ।
एडीबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो। बहुआयामिक विकासमा ऋण, अनुदान लगायत सहायतामार्फत एडीबीले नेपालमा लगानी गरिरहेको छ। आइतबार राति काठमाडौं ओर्लिएका कान्दा मंगलबार फर्किने तालिका छ।