BIZMANDU
www.bizmandu.com

बालेनप्रति आङदेम्बेको कठोर टिप्पणी : किम जोङसँग तुलना, ‘मस्तिष्कमा उत्तर कोरिया बोक्नुभयो’

२०८३ असार २२

बालेनप्रति आङदेम्बेको कठोर टिप्पणी : किम जोङसँग तुलना, ‘मस्तिष्कमा उत्तर कोरिया बोक्नुभयो’
बालेनप्रति आङदेम्बेको कठोर टिप्पणी : किम जोङसँग तुलना, ‘मस्तिष्कमा उत्तर कोरिया बोक्नुभयो’


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भाइरल हुने लोभ छाड्न सुझाव दिएका छन्। उनले शाहलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गरे।

Tata
GBIME
Nepal Life

‘नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ। प्रधानमन्त्री उत्तरदायी हुनुपर्छ,’ संसद्मा सोमबार आङदेम्बेले भने।

शाहलाई आफू प्रधानमन्त्री भएको र संसद्ले नै आफ्नो पद जन्माएको नबिर्सिन आग्रह गरे। ‘धुरीमा चढेपछि सिँढी बिर्सिनु हुँदैन। संसद् प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ? लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै होइन,’ उनले भने।

सामाजिक सञ्जालमा भाइरल हुनेमात्रै काम शाहले गरेको उनको आरोप छ। सामाजिक सञ्जाल छोडेर संसद्मा आउन उनको आग्रह छ। ‘भाइरल हुने बाटो भुलिदिनुस्। एक्सप्रेस वेमा अघि बढ्नुस्,’ उनले भने। शाहले उल्टो बाटो हिँड्न खोजेको उनले बताए। ‘संविधानको बाटोबाट आएर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडिरहनुभएको छ,’ उनले शाहलाई उत्तर कोरियाका नेता किम जोङसँग तुलना गर्दै भने।

उनले सम्पत्तिको छानबिन पनि प्रधानमन्त्री शाहबाट सुरु गर्न आग्रह गरेका छन्। उनले आफ्नो पनि सम्पत्ति छानबिन गर्न आग्रह गरे। ‘उहाँको पनि के हो सम्पत्तिको स्रोत के हो? हाम्रो प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति अवैध नहोस्,’ उनले भने। भोट दिने जनताले शाहको सम्पत्तिको स्रोत के हो भनेर प्रश्न गरिरहेको बताए। पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न उनले आग्रह गरे।

सबैभन्दा पहिला शाहबाटै सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए। ‘छानबिन आफूमाथि नगर्ने अरुमाथि मात्रै गर्ने भन्ने हुँदैन। प्रधानमन्त्रीजीले आफूलाई कानुनभन्दा माथि राखेर अरुको छानबिन हुँदैन,’ उनले भने। सम्पत्ति छानबिन गर्दा चयनात्मक सिद्धान्त प्रयोग भएको आरोप लगाए।

विपक्षीलाई छानी-छानी मुद्दा लगाइएको उनको आरोप छ। आफ्ना मानिसमाथि पनि विपक्षीमाथिको छानबिनको जस्तै कठोर हुनुपर्ने आङदेम्बेले बताए। सरकारको १०० दिनमा लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर हस्तक्षेप भएको उनले आरोप लगाए।

‘६ जनाको संवैधानिक परिषद्मा ३ सदस्यलाई लोकतान्त्रिक प्रक्रियामा कसरी बहुमत भनिन्छ?,’ आङदेम्बेले प्रश्न गरे। संविधान विपरीत संवैधानिक परिषद् चलेको उनको आरोप छ। संवैधानिक प्रक्रियालाई कमजोर बनाउन खोजेको उनले बताए।

‘हाम्रो उद्देश्य सरकारको विरोधका लागि विरोध गर्नु होइन। सरकार सफल हुँदा जनता सफल हुने हो। हाम्रो मूल्यांकन कति ठाउँमा डोजर चलायो भन्नेबाट होइन नागरिकको जीवन कति सहजबाट हुनुपर्छ,’ उनले भने।

सुकुम्बासी बस्तीमा बिना योजना डोजर चलाएकोमा उनले विरोध गरे। ‘साना बालबालिकाको बारे राज्यले सोच्न पर्दैन? राज्य यति असंवेदनशील बन्न मिल्छ?,’ उनको प्रश्न छ। कालो चस्मा, कालो कोट र कालै गाडीमा गुडनेको मात्रै देश नभएको भन्दै उनले गरिबको पनि भएको बताए।

उनले लोककल्याणकारी सिद्धान्तअनुसार राज्य नचलेको दाबी गरे। ‘ख्याल होस् नागरिकमाथि सरकारको विजयी कहिले हुँदैन। गरिब किसानको परिवारमा कति पीडा निम्त्याउँछ,’ उनले भने।